Dhulikhel Eco Banner new

दुई दिनको बिदाले पर्यटन व्यवसायीमा उत्साह  

7.57K
shares

काठमाडौं, ५ जेठ । सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा छ ।

कोरोना सङ्क्रमणका कारण थलिएको पर्यटन क्षेत्र पुनः पूर्ववत् अवस्थामा फर्किने आशा व्यवसायीले गरेका छन् । विगतका दिनमा सँगै दुई दिन बिदा हुँदा एकरात बस्न आउने पर्यटकको सङ्ख्या बढी हुने गरेको भन्दै उनीहरुले आइतबार पनि बिदा दिनुपर्ने माग गर्दै आएका थिए ।   पर्यटन क्षेत्रमा काम गर्दै आएका पर्यटन व्यवसायी विप्लव पौडेल दुई दिन बिदाको माग आफूहरुको भएको बताउछन् । पोखरा र चितवनको मेघौलीमा रहेको होटल बाराहीका सञ्चालक पौडेलले यो बिदाबाट होमस्टे (घरबास)देखि ठूला होटलसम्म पर्यटक बढ्ने बताए । उनले भने, “यसले आर्थिक क्षेत्र चलायमान बनाउँछ ।”

दुई दिन घुमफिर र रमाइलो गरेपछि पाँच दिन गर्ने काम जोश, जाँगर भरिएर थप राम्रो हुने पौडेलको भनाइ छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराई यसअघिको अवस्थामा नियमित दुई दिन बिदा हुँदा अन्य दिनको तुलनामा ५० प्रतिशत पर्यटक बढ्ने गरेका बताउछन् । आन्तरिक पर्यटकलाई घुमफिरका लागि मिल्दो समयको अभाव हुँदै आएकामा यो बिदाले लाभ मिलेको उनको भनाइ छ । उनले भने, “अन्य दिनको तुलनामा बिदाको दिनमा पर्यटक बढ्ने गर्छ, सँगै दुई दिन बिदा हुँदा पक्कै पर्यटक बढ्छ ।”

कोभिडका कारण थलिएको पर्यटन क्षेत्र दुई दिन बिदासँगै पहिलेको भन्दा राम्रो हुने आफ्नो अनुमान रहेको भट्टराईले बताए । बिदा हुन थालेसँगै लक्षण सकारात्मक देखिएकोे उनले जानकारी दिए । पारिवारिक घुमफिर यो बिदाले बढाउने अपेक्षा व्यवसायीको छ । क्षेत्रीय होटल सङ्घका महासचिव गुणराज थपलिया टेलिफोनबाट बुझ्ने र बुकिङ गर्ने क्रम बढ्न थालेको बताउछन् । देशको मध्यभागमा रहेकाले सौराहामा एक रात बिताउन छिमेकी धेरै जिल्लाबाट आउन सहज छ । एक रातको बसाइमा यहाँका महत्वपूर्ण गतिविधिमा सहभागी हुनसक्ने भएकाले केही हप्तापछि नै राम्रो नतिजा आउने थपलियाले बताए ।

विदेशी पर्यटकको सङ्ख्या घटेसँगै यहाँको पर्यटन क्षेत्र आन्तरिकले धानेको छ । मुख्यरूपमा नेपालमा पोखरा, लुम्बिनी, चितवन, काठमाडौँलगायतका क्षेत्रमा पर्यटक धेरै पुग्ने गर्दछन् । आइतबार हुने बिदामा यी क्षेत्रमा पर्यटकको चाप बढ्ने व्यवसायीको अनुमान छ ।