Dhulikhel Eco Banner new

दुई विशाल अर्थतन्त्रबाट लाभ उठाउने गरी नीति बन्नु पर्छ : महामन्त्री शर्मा

8.29K
shares

काठमाडौं, ९ भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई ठूला छिमेकीको आर्थीक प्रगतिबाट लाभ उठाउने गरी नीतिगत तयारी गर्नु पर्ने आवश्यकता औल्याँएका छन् ।

कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित पोलिसी ह्याकथन समापन कार्यक्रमलाई सम्बोधन गर्दैै महामन्त्री शर्माले विश्व अर्थतन्त्रका दुई ठूला छिमेकीको रुपमा रहेको नेपालमा विकासको नीति बनाउँदा युवालाई समेट्नुपर्ने भन्दै समुन्द्र नहुनुको पीडाबाट मुक्त हुनुपर्ने धारणा राखे ।

उनले भने, ‘हाम्रो उत्तरमा र दक्षिणमा भएको विशाल विशाल अर्थतन्त्रबाट लाभान्वित हुनुपर्छ। यो बेलामा हामी युवाहरुको बीचमा उभिएर भन्न चाहान्छौ, समुन्द्र नहुनुको पीडाबाट नेपाल मुक्त हुनुपर्छ ।’ उनले सन् २०५० सम्ममा उत्तरी छिमेकी चीनको अर्थतन्त्र ५८ ट्रिलियन र दक्षिणी छिमेकी भारत ४६ ट्रिलियन अमेरीकी डलरको अर्थतन्त्र हुने भन्दै उनले यी दुई विशाल अर्थतन्त्रबाट लाभान्वित हुन युवा लक्षित विषय र नीतिलाई राजनीतिक दलले समेट्नुपर्ने बताए ।

‘हामी प्रकृतिको समुन्द्रको बीचमा भएर होला तर, दुईवटा प्रगतिको समुन्द्रको बीचमा जाँदै छौँ । त्यो बेलामा नेपाली कांग्रेस पार्टी होस् वा अन्य कुनै राजनीतिक दलले आफ्नो काम गर्ने शैलीमा युवाले सोचिरहेको विषय र नीतिहरुलाई देशको गम्भीर केन्द्रमा राख्नुपर्छ ।’

नेपाली कांग्रेसले देशभरीका युवाका विचार, विषय र नीतिलाई महत्व दिदै पार्टीमा तिनका एजेण्डालाई स्थान दिने हेतुले पोलिसी ह्याकथन कार्यक्रमको आयोजना गरेको छ ।
अनलाइन आवेदन मार्फत नीति पत्र पठाउने २२७ टोली मध्येबाट छानिएका १० उत्कृष्ट टोलीको नीतिपत्र आज प्रस्तुत गरिँदै छ । नीतिपत्र प्रस्तुत भैसकेपछि आज दिउँसो उत्कृष्ट हुनेलाई कांग्रेस सभापति शेरबहादुर देउवाले कदरपत्र सहित सम्मान गर्नेछन् ।