सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को महाप्रबन्धकमा किरणबाबु पुन नियुक्त
वि.सं.२०८० माघ ३ बुधवार १७:३०
shares

काठमडौं, ३ माघ । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को रिक्त महाप्रबन्धक पदमा सानीभेरी गाउँपालिका वडा नम्बर ६ रुकुमपश्चिमका किरणबाबु पुन नियुक्त भएका छन् ।
पुनलाई आज बसेको मन्त्रिपरिषद्को बैठकले नियुक्त गरेको नेपाल सरकारकी सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले जनाकारी दिइन् ।
‘सस्कृति मन्त्रालयको प्रस्तावमा रिक्त रहेको सांस्कृतिक संस्थानको महाप्रबन्धकमा मा किरणबाबु पुनलाई नियुक्त गर्ने निर्णय भएको छ,’ शर्माले सञ्चारकर्मीसँग भनिन्। पुन भन्दा अगाडि अशोककुमार राई सांस्कृतिक संस्थानको महाप्रबन्धक थिए ।
नेपाली नाटक, गीत, संगीत र नृत्यको संस्थागत विकास गर्ने उद्देश्यले २०१६ सालमा अवधारणा तयार भई २०१८ सालमा राष्ट्रिय नाचघर स्थापना भएको हो । २०२९ सालसम्म राष्ट्रिय नाचघर, कहिले संस्कृति विभाग, कहिले पुरातत्व विभाग, कहिले सूचना विभाग त कहिले प्रसार विभागअन्तर्गत रह्यो । राष्ट्रिय नाचघरलाई सञ्चार संस्थान ऐन २०२८ अन्तर्गत २०२९ असार ५ गते सांस्कृतिक संस्थानका रुपमा आधिकारिक रूपमा गठन गरिएको हो ।
संस्थानमा एकदेखी ९ औँ तहसम्मका ५३ जना कर्मचारीको दरबन्दी रहेको छ । संस्थानको प्रधान कार्यालय काठमाडौंको जमलमा रहेको छ ।



















