काठमाडौंमा अत्याधिक चिसो, न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस
वि.सं.२०८० माघ १४ आइतवार १६:०५
shares

काठमाडौं, १४ माघ । आइतबार काठमाडौं उपत्यकामा यो वर्षकै अत्याधिक चिसो भएको छ । आज कोठडौंको न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस जल तथा मौसम पुर्वानुमान महाशाखाले मापन गरेको छ ।
उपत्यकाको अधिकतम तापक्रम १६.५ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।
देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा रहेको छ भने तराईका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो लागेको महाशाखाले बताएको छ।
आइतबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने र कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पुर्वानुमान महाशाखाले जनाएको छ।
आज राती कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पुर्वानुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बिहानको समयमा पूर्वी तराईका अधिकांश भागहरूमा लागेको बाक्लो कुहिरो मध्यान्न सम्ममा तथा मध्य र पश्चिम तराईका अधिकांश भागहरूमा लागेको बाक्लो कुहिरो अपरान्ह सम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको छ । यसैगरी, महाशाखाले सोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध गरेको छ।
सोमबार र मंगलबार पनि देशभरको मौसमी अवस्थामा यहिँ निरन्तरता हुने समेत जनाइएको छ ।आउँदो २ दिन देशका पहाडी भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने पुर्वानुमान गरिएको छ। देशको उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।















