व्यवसायीलाई सुरक्षा प्रत्याभूति दिन महासंघको माग
वि.सं.२०८० फागुन १४ सोमवार १८:२८
shares

काठमाडौं, १३ फागुन । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायी लक्षित आक्रमणका घटना बढिरहेको भन्दै पूर्ण सुरक्षा प्रत्याभूति दिन सरकारसँग माग गरेको छ ।
आज महासंघले विज्ञप्ति जारी गर्दै मुलुकभर निर्माण व्यवसायमा संलग्न व्यवसायीमाथि सांघातिक आक्रमण, गोली प्रहारसमेतका घटना भइरहेकाले सरकारले सुरक्षा प्रत्याभूति दिन माग गरेको हो ।
महासंघले गत शनिबार बेलुकी सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका–१ गैरीचोकमा नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतका सदस्य एवं विनोद निर्माण सेवाका प्रोप्राइटर विनोद गिरीमाथि गोली प्रहार भएको जनाएको छ ।
महासंघका महासचिव रोशन दाहालले विज्ञप्ति जारी गर्दै घटनाको निन्दा एवं भत्सर्ना गर्दै व्यवसायीलाई सुरक्षा ग्यारेन्टी दिन सरकारसँग माग गरेका छन् ।
कर्णाली प्रदेशको राजधानीमै योजनाबद्ध तरिकाले भएको गोलीकाण्डले मुलुकको खस्कँदो सुरक्षा अवस्था उजागर गरेको महासंघको भनाइ छ । ‘यस घटनाबाट देशभरका निर्माण व्यवसायीसहित समग्र निजी क्षेत्रमा त्रासको वातावरण सिर्जना गरेको छ,’ महासंघको विज्ञप्तिमा भनिएको छ, ‘म्याद थपमा देखिएको जटिलताका कारण राज्यबाट पाउनुपर्ने अर्बौं रकमसमेत नपाउँदा मानसिक तनावमा रहेका निर्माण व्यवसायी यस घटनाबाट थप विक्षिप्त भएका छन् ।’
गोलीकाण्डमा संलग्नलाई कानुनी दायरामा ल्याई कारबाही गर्न माग गर्दै महासंघले देशभरका निर्माण व्यवसायीसहित तिनका उपकरणको समेत सुरक्षाको पूर्ण व्यवस्था मिलाउन गृह मन्त्रालयलगायत सरोकारवाला निकायसमक्ष अपिल गरेको छ ।



















