GBIME

चितवनमा ७०० बढी बैंकिङ कसुरका निवेदन

462
shares

चितवन, १६ चैत । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात सय ५३ बैंकिङ कसुरका उजुरी परेका छन् ।

कार्यालयको बैंकिङ कसुर शाखाका वरिष्ठ प्रहरी नायब निरीक्षक राम कार्कीका अनुसार विसं २०७९ मङ्सिरदेखि शाखा स्थापना भई बैंकिङ कसुरका निवेदन दर्ता गर्न थालिएको हो । चालु आवमा परेका निवेदनमध्ये १६५ मुद्दा दर्ता भइसकेको उनले जानकारी दिए ।

शाखामा परेका उजुरीमध्ये २० प्रतिशत आपसी मेलमिलाप हुने गरेको कार्कीले बताए । उनले भने, “करिब २० प्रतिशतमा आपसी मेलमिलाप हुने गरेको छ । केही छलफलकै क्रममा छन् ।”

निवेदन परिसकेपछि कार्यालयले सम्बन्धित व्यक्तिलाई छलफलका क्रममा बोलाउने गरेको प्रहरी नायब निरीक्षक कार्कीले बताए । छलफलमा सहमति भएर पीडितले आफ्नो रकम पाउने सुनिश्चित भएसँगै मिलापत्र हुने उनको भनाइ छ ।

कार्कीका अनुसार यस शाखामा रु ५० हजारदेखि रु एक करोडसम्मका उजुरीहरु आएका छन् । नौ लाख मुनिका निवेदनलाई आर्थिक कारोबारको प्रमाण आवश्यक नपर्ने भन्दै त्यसभन्दा माथिका निवेदनको हकमा आर्थिक कारोबारको प्रमाणसमेत आवश्यकपर्ने उनले बताए ।