GBIME

‘औद्योगिक अवस्था नाजुक भएका कारण विकास निर्माणमा असर गर्यो’

726
shares

हेटौँडा, १६ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक तथा औद्योगिक अवस्था नाजुक भएका कारण विकास निर्माणमा असर परेको बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासङ्घको २५औँ साधारणसभालाई हेटौँडामा सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथि रहेको कार्यक्रममा बोल्दै ढकालले निर्माण व्यवसायीका समस्या समाधान गर्नुपर्नेमा प्रधानमन्त्री दाहालसमक्ष आग्रह समेत गरे ।

ढकालले निर्माण व्यवसायीहरुको भुक्तानी छिट्टै गर्न प्रधामन्त्री प्रचण्डलाई आग्रह समेत गरे । ‘देश विकासका लागि पूर्वाधारको निर्माण र विकास सबैभन्दा महत्वपूर्ण पक्ष हो भन्ने कुरा सरकारले बुझ्नुपर्छ’, अध्यक्ष ढकालले भने, ‘सरकारले उनीहरुको भुक्तानीमा ढिलाइ गर्दा परियोजनाहरूमा ढिलाइ हुनसक्छ ।’

व्यवसायीहरुले पनि बैंक किस्ता, श्रमिकको ज्याला तथा करको ठूलो रकम भुक्तानी गर्न नसकेको बताउँदै उनीहरु समस्याग्रस्त भएको र त्यसको समाधान चाडो गर्ने अध्यक्ष ढकालले आग्रह गरे ।

अध्यक्ष ढकालले देशको विकासका लागि पूर्वाधार विकास सबैभन्दा महत्त्वपूर्ण पक्ष हो भन्ने कुरा सरकारले बुझ्नु पर्ने बताए ।  ढकालले नेपाल निर्माण व्यवसायी महासंघलाई नेपालमा पूर्वाधार विकासको लागि अटल प्रतिबद्धताको लागि धन्यवाद समेत दिएका थिए ।