GBIME

एम्बुलेन्स खरिदका लागि महायज्ञ

498
shares

म्याग्दी बेनी ४ वैशाख । म्याग्दीको मङ्गला गाउँपालिका २ बाबियाचौरमा एम्बुलेन्स खरिदका लागि महायज्ञ आयोजना गर्न लागिएको छ । बाबियाचौरस्थित माटेबगरमा रहेको देवी भगवती मन्दिर परिसरमा बहुउद्देश्यीय सेवा भवन निर्माण र नियमित रुपमा आकस्मिक यातायात सेवाका लागि एम्बुलेन्स खरिद गर्नका लागि महायज्ञ आयोजना गर्न लागिएको हो ।

देवी भगवती मन्दिर संरक्षण समिति तथा मङ्गला युथ क्लबको आयोजनामा यही वैशाख ८ गते देखि १६ गते सम्म सञ्चालन गर्न लागिएको ऐतिहासिक देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्वस २०८१ को तयारीलाई तीव्र पारिएको छ ।

मङ्गला गाउँपालिकाभित्रका बिरामीलाई समयमै अस्पताल पु¥याउन यातायातको साधनको समस्या भएको अवस्थालाई मध्यनजर गर्दै एम्बुलेन्स खरिद गर्ने लक्ष्यसहित महायज्ञ आयोजना गरिएको मूल समारोह समितिका सचिव छमलाल पौडेलले जानकारी दिनुभयो ।

उनका अनुसार महायज्ञबाट बचत हुने रकमबाट मन्दिर पुनःनिर्माण र बहुउद्देश्यीय सेवा भवन निर्माण गरिनेछ । उक्त भवनमा मण्डपसहित विवाह तथा व्रतबन्धलगायतका धार्मिककार्य सम्पन्न गर्ने कक्ष सङ्कीर्तन पूजा सामग्री भण्डारण कक्ष तथा योग र ध्यान समेत गर्न मिल्ने सभाहल निर्माण गर्ने लक्ष राखिएको महायज्ञ मूल समारोह समितिका अध्यक्ष नवीन अधिकारीले बताए ।

महायज्ञको प्रचारप्रसार मञ्च व्यवस्थापन दानदाताको खोजी पत्राचार निमन्त्रणा कार्ड वितरणलगायतका कार्यलाई तीव्रताका साथ अगाडि बढाइएको प्रचारप्रसार उपसमितिका संयोजक राजु पाण्डेले जानकारी दिनुभयो ।

महायज्ञमा पण्डित कपिलदेव भट्टले कथा प्रवचन गर्नुहुनेछ । महायज्ञमा दैनिक पूजापाठ ग्रह शान्ति व्रतबन्ध विवाह व्रतसाङेता सन्ध्या महाआरति लाखबत्ती कलश मूलकर्ता भूमिदान र तुलादन समेतको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

विसं २०३५ मा हर्कबहादुर अधिकारीको सक्रियतामा स्थापना गरिएको देवी भगवती मन्दिरमा पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास छ । यस मन्दिरमा आज चैतेदसैँको अवसरमा विशेष पूजाआजा गरिएको छ । महायज्ञको वैशाख ८ गते कलशयात्रासहित उद्घाटन गरिने जनाइएको छ ।