Dhulikhel Eco Banner new

दमक नगरपालिकाद्वारा १४ करोड बढी राजस्व संकलन

3.69K
shares

काठमाडौं, ९ जेठ । दमक नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा १४ करोड २४ लाख २० हजार एक सय ३२ राजस्व संकलन गरेको छ ।

नगरपालिकाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई करोड ५१ लाख ६३ हजार नौ सय ७३ रकम बढी राजस्व संकलन गरेकोे हो । गत आवको १० महिनामा दमक नगरपालिकाले ११ करोड ७२ लाख ५६ हजार एक सय ५९ रकम राजस्व संकलन गरेको थियो ।

नगरपालिकाका सूचना अधिकारी समिप चुडालले चालु आवमा २१ करोड राजस्व संकलन गर्ने लक्ष्य रहेकामा वैशाख मसान्तसम्ममा ६८ प्रतिशत राजस्व संकलन गरिएको जानकारी दिए । “चालु आवको दुई महिनामा राजस्व संकलनको बाँकी ३२ प्रतिशत रकम उठाउने लक्ष्य भेट्टाउन कठिन छ”, उनले भने ।

दमक नगरपालिकाले विभिन्न २६ शीर्षकमा राजस्व संकलन गर्दै आन्तरिक आय गर्दै आएको छ । नगरपालिकाले हालसम्म सम्पत्ति करबापत दुई करोड नौ लाख, कृषि तथा पशुजन्य वस्तुको व्यावसायिक कारोबारमा लाग्ने दस्तुरबापत एक करोड ६० लाख रकम संकलन गरेको सूचना अधिकारी चुडालले बताए । नगरपालिकाले चालु आवको वैशाखसम्ममा मालपोत कर एक करोड ६४ लाख, सम्पत्ति कर एक करोड ५५ लाख, नक्सापास दस्तुर एक करोड ६० लाख, बहाल करबापत एक करोड १८ लाख बढी संकलन गरेको छ ।