सयपत्री हाइड्रोपावरको असार २ गतेबाट आईपीओ खुल्दै
वि.सं.२०७९ जेठ २४ मंगलवार ११:१९
shares

काठमाडौं, २४ जेठ । सयपत्री हाइड्रोपावर लिमिटेडले असार २ गतेदेखि ३ करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ ।
कम्पनीले निष्काशन तथा बिक्री खुला गर्ने उक्त आईपीओमा आयोजना प्रभावित क्षेत्र बाग्लुङ्ग जिल्लाका स्थानीय बासिन्दाहरुले मात्र आवेदन गर्न पाउनेछन् ।
कम्पनीले प्रतिसेयर १०० अंकित दरमा ३ करोड मूल्यका कुल ३ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । जसमा आयोजना प्रभावित क्षेत्र बाग्लुङ्ग जिल्ला ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा स्थायी बसोबास गर्ने बासिन्दाहरुले असार १६ गतेसम्म आवेदन पाउनेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएको खण्डमा भने असार ३१ गतेसम्म उक्त आईपीओको बिक्री खुला रहने कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।
सो आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट स्थानीय प्रमाणित हुने परिचयपत्रका साथ आवेदन दिन सकिनेछ ।
यसका अलवा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, काठमाण्डौं, प्रभु बैंकको ताराखोला र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट शाखाबाट समेत आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
सार्वजनिक निष्काशनका लागि रेटिङ्ग एजेन्सी केयर रेटिङ्गस नेपाल लिमिटेडबाट साख मूल्याङ्कन गराएको हो । क्रेडिट रेटिङ्ग नियमावली, २०६८ को नियम ३ मा भएको व्यवस्था बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्स नेपाल लिमिटेड, काठमाण्डौंबाट २०७८ फागुन ४ गते रेटिङ्ग गराएको कम्पनीले जनाएको छ ।















