बिन्धयबासिनी हाइड्रोपावरको आइपीओमा पर्यो १५ लाखभन्दा बढी आवेदन
वि.सं.२०७९ जेठ २४ मंगलवार १८:३२
shares

काठमाडौं, २४ जेठ । जेठ २० गतेदेखि निष्कासनमा आएको बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ मंगलवारसम्म १५ लाख ४१ हजार ८३७ जनाले भरेका छन् ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार मंगलवार साँझ ५ बजेर ३२ मिनेटसम्म यी आवेदकहरुले रू. १ अर्ब ८५ करोड २ लाख ६९ हजार बराबरको १ करोड ८५ लाख २ हजार ६९० कित्ताका लागि आवेदन दिएका हुन् । जुन मागभन्दा १३ दशमलव ५५ गुणा बढी आवेदन परेको हो ।
कम्पनीले सर्वसाधारणमा प्रतिशेयर रू. १०० अंकित मूल्यका १५ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । कुल कित्ता शेयरमध्ये ४ प्रतिशत अर्थात् ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । यी बाहेक बाँकी १३ लाख ६५ हजार कित्ता शेयर भने सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आएको हो ।
मागभन्दा बढी आवेदन परिसकेकाले यो आईपीओ छिटो अवधि अर्थात् जेठ २५ गतेसम्म मात्र विक्रीमा रहनेछ ।
कम्पनीको शेयर विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । कार्यालय सयमपश्चात् विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिने व्यवस्था छ ।
साथै मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।















