Dhulikhel Eco Banner new

के हो बैंक खाता ?

2.6K
shares

काठमाडौं, २१ मंसिर । खाता एक प्रकारको कारोबार विवरण हो । सर्वसाधारण व्यक्ति वा संस्थाको रकम जम्मा गर्न बैंक तथा वित्तीय संस्थाले सम्बन्धित व्यक्ती वा संस्थाको नाममा खाता खोले र कम जम्मा गर्ने तथा उनीहरुलाई चाहिएको समयमा भुक्तानी दिने गरि दर्ता गरिएको विवरण नै बैंक खाता हो ।

खातामा पैसा जम्मा गर्दा भौचर भरेर गरिन्छ भने पैसा निकाल्नु पर्ने भयो भने चेक काटेर निकाल्न मिल्छ । चेक बुक तथा एटिएम मार्फत पनि आफूलाई आवश्यक पर्ने रकम झिक्न सकिन्छ । बैंक खाता खोल्नको लागि नागरिकताको प्रमाणपत्र, फोटो, पूर्णरुपले भरेको आवेदन फारम, आवश्यक न्यूनतम रकम, दस्तखत नमूना जस्ता विवरण आवश्यक छ । नाबालकको हकमा संरक्षकको हैसियतले अभिभावकको नागरिकता, फोटो, आवेदन फाराममा दस्तखत आवश्यक पर्छ ।

बैंक खाता विभिन्न प्रकारका हुन्छन् । यीमध्ये चल्ती खाता, बचत खाता र मुद्दती खाता चलन चल्तीमा रहेका प्रमुख खाताहरु हुन् ।

चल्ती खाता : आफूले चाहेको समयमा चाहेको जति रकम एकै दिनमा जतिसुकै पटक पनि राख्न तथा झिक्न सकिने खातालाई चल्ती खाता भनिन्छ । यस खातामा राखेको पैसामा सामान्यतः ब्याज प्राप्त हुँदैन । उद्योग, व्यापारी र कार्यालयहरुका लागि यो खाता बढी उपयोगी हुन्छ ।

बचत खाता : बचत खातामा रकम जति पटक पनि जम्मा गर्न सकिन्छ तर एउटा निश्चित सीमाभित्र रहेर मात्र रकम झिक्न सकिन्छ । यसका लागि बैंकले सीमा तोकेको हुन सक्छ । यस खाताको रकममा बैंकले निश्चित ब्याज प्रदान गर्दछ ।

सामान्य तथा साना रकम जम्मा गर्दै जाने र आवश्यक परेको समयमा रकम निकालिरहनु पर्ने व्यक्तिका लागि यो खाता उपयोगी हुन्छ । विद्यार्थी, युवा, गृहस्थी, बुढाबुढीहरु सबैका लागि यो खाता उपयोगी हुन्छ ।

मुद्दती खाता : मुद्दती खाता ३ महिना, ६ महिना, १ वर्ष, २ वर्ष र ५ वर्षसम्मको एउटा निश्चित समय अवधि तोकेर रकम जम्मा गरिन्छ । यस खातामा राखेको पैसाको ब्याजदर पनि बचत खाताको भन्दा केही बढी नै हुन्छ । तर, तोकेको समयभन्दा पहिले नै रकम निकाल्न नमिल्ने हुँदा बीचमा रकम आवश्यक पर्ने सम्भावना नभएको अवस्थामा मात्र यस्तो खातामा रकम जम्मा गर्नु उपयुक्त हुन्छ ।

बीचमा रकम आवश्यक परेमा यस्तो खातामा जम्मा गरेको रकमको प्रमाणपत्र धितो राखी बैंकहरुबाट कर्जा निकाल्न त मिल्छ । तर यसका लागि पनि रकम झिक्न केही समय लाग्ने हुन्छ । यसप्रकार ऋण लिँदा आफूले मुद्दती निक्षेपमा पाउने ब्याज दरभन्दा केही प्रतिशत वढी ब्याज बैंकलाई तिर्नुपर्ने हुन्छ ।