Dhulikhel Eco Banner new

सीटीईभीटीको प्रि-डिप्लोमा छात्रवृत्तिका लागि आवेदन खुला

2.89K
shares

काठमाडौं, २२ असार । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)ले शैक्षिक सत्र २०८२/०८३ का लागि प्रि-डिप्लोमा तहका विभिन्न कार्यक्रमहरूमा निःशुल्क छात्रवृत्तिका लागि अनलाइन आवेदन खुला गरेको छ।

परिषद्को परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले एक सूचना जारी गर्दै इच्छुक विद्यार्थीहरूलाई आवेदन दिन आह्वान गरेको हो।

छात्रवृत्तिका लागि सरकारी वा सामुदायिक विद्यालयबाट एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूले मात्र आवेदन दिन सक्नेछन्। आवेदन परिषद्को आधिकारिक अनलाइन प्रणालीमार्फत साउन ११ गतेभित्र अनिवार्य रूपमा बुझाइसक्नुपर्नेछ।

आवेदन फाराम भर्दा विद्यार्थीहरूले आफूले अध्ययन गर्न चाहेको कार्यक्रम, प्रदेश र शिक्षालय चयन गर्नुपर्नेछ। परिषद्ले सूचनामा स्पष्ट पारे अनुसार, एक जना आवेदकले कुनै एक प्रदेशभित्रको एउटै कार्यक्रमका लागि मात्र आवेदन दिन पाउनेछन्।

छात्रवृत्तिको प्रतिस्पर्धा प्रदेशस्तरमै हुनेछ र योग्यताक्रम सूची पनि प्रदेश अनुसार नै प्रकाशित गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।