५ खर्ब २० अर्ब थन्किएको छ,लगानीका क्षेत्र पहिचान गर्न जरुरी छ : गभर्नर पौडेल
वि.सं.२०८२ असार २२ आइतवार १३:२०
shares

काठमाडौं, २२ असार । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले हालको आर्थिक परिवेशलाई लगानीका लागि उपयुक्त समयका रूपमा औंल्याएका छन्। उनले बैंकिङ प्रणालीमा पर्याप्त तरलता र विदेशी मुद्रा सञ्चिति रहेको उल्लेख गर्दै दिगो तथा सन्तुलित विकासका लागि लगानीको राम्रो अवसर सिर्जना भएको बताएका हुन्।
आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘प्रि मोनिटरी पोलिसी डिस्कसन’ कार्यक्रममा बोल्दै गभर्नर पौडेलले वर्तमानमा बैंकहरूमा ५ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी रकम थन्किएको जानकारी दिए। यस्तो अवस्थामा वित्तीय नीतिले ऊर्जा क्षेत्रजस्तै अन्य सम्भाव्य क्षेत्रहरूको पहिचान गरी लगानी प्रवाह गर्नुपर्नेमा उनले जोड दिए।
हामीसँग लगानीयोग्य रकम पर्याप्त मात्रामा छ उनले भने,अब यसको सही परिचालनका लागि मौद्रिक तथा वित्तीय नीतिबीच समन्वय आवश्यक छ। गभर्नर पौडेलले ग्रामीण क्षेत्रमा अझै पनि अपेक्षाअनुसार ऋण प्रवाह नहुनु चिन्ताको विषय भएको बताउँदै आगामी मौद्रिक नीतिमा सो समस्या सम्बोधन गरिने उल्लेख गरे।
अझै पनि ग्रामीण क्षेत्रमा चाहेअनुसार ऋण जान नसकेकोले आगामी मौद्रिक नीतिबाट त्यसलाई सम्बोधन गरिने उनले बताए ।हामी जुन क्षेत्रतिर ऋण जानुपर्छ भन्छौं, त्यहाँ पुग्न सकेको छैन भन्ने गुनासो छ। उनले भने, आगामी नीति त्यसतर्फ केन्द्रित हुनेछ।
उनका अनुसार आगामी मौद्रिक नीति समावेशी, सन्तुलित र दिगो विकासमा केन्द्रित हुनेछ। सबै क्षेत्रलाई समेट्ने र समृद्धितर्फ लैजाने नीतिमा राष्ट्र बैंकको निरन्तर प्राथमिकता रहनेछ,गभर्नर पौडेलले स्पष्ट पारे।



















