प्याब्सनको नेतृत्वमा डेनमार्क, स्विडेन र फिनल्यान्डको शैक्षिक भ्रमण सम्पन्न
वि.सं.२०८२ साउन १८ आइतवार १७:१८
shares

काठमाडौं, १८ साउन। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) केन्द्रीय कार्यसमितिको नेतृत्वमा सम्पन्न डेनमार्क, स्विडेन र फिनल्यान्डको १० दिने शैक्षिक भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ। भ्रमण टोली बिहीवार स्वदेश फर्किएको हो।

भ्रमण टोलीमा प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी, प्रमुख सल्लाहकार डीके ढुंगाना, महासचिव आरबी कटवाल सहित विभिन्न निजी विद्यालयका प्रिन्सिपल र पदाधिकारीहरू सहभागी थिए। भ्रमणको संयोजन ग्लोबल हेल्प फाउन्डेसनले गरेको थियो।
भ्रमणको सुरुवात डेनमार्कको राजधानी कोपेनहेगनमा आयोजित ‘शैक्षिक भ्रमण तथा नेतृत्व विकास सम्बन्धी सेमिनारबाट गरिएको थियो। सेमिनारको उद्घाटन डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले गरेकी थिइन्।

उद्घाटन कार्यक्रममा बोल्दै राजदूत तुलाधरले युरोपेली शिक्षा प्रणालीमा देखिएका प्रगतिशील अभ्यासहरू नेपालका लागि पनि सकारात्मक प्रभाव पार्ने बताइन्। प्याब्सनले यस्ता सेमिनार र भ्रमणमार्फत शिक्षामा गुणस्तर अभिवृद्धिका लागि लिएको पहल सराहनीय रहेको उनको भनाइ थियो।
सेमिनारमा प्याब्सन अध्यक्ष कृष्णप्रसाद अधिकारीले भ्रमणको उद्देश्य अन्तर्राष्ट्रिय अभ्यासबाट सिक्न र नयाँ सोच विकास गर्न सहयोग पुर्याउनु रहेको बताए। यस्ता भ्रमणहरूले नेपाली शिक्षा प्रणालीलाई आधुनिकीकरणतर्फ उन्मुख गराउने स्पष्ट संकेत दिने उनले जनाए।



















