उखुखेतीमा अनुदान कटौतीको विरोधमा किसान आन्दोलित
वि.सं.२०८२ साउन २१ बुधवार १६:०९
shares

काठमाडौं, २१ साउन । उखुखेती गर्ने किसान यतिखेर आन्दोलित भएका छन् । उखुमा सरकारले दिँदै आएको अनुदानको निरन्तरता हुनुपर्ने उनीहरूको माग छ ।
महोत्तरीमा उखुखेती गर्ने किसानको संख्या १५ हजार हाराहारी छ । यसअघि सरकारले दिँदै आएको चिनी उद्योगमा बुझाइएको उखुमा अनुदान प्रतिक्विन्टल रु ७० यसपालि बजेटमा नपरेपछि किसान आन्दोलित भएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत उनीहरुले अनुदानको निरन्तरताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका थिए । किसानले मङ्गलबार गौशाला–१ रामनगरस्थित एभरेष्ट चिनी उद्योग अगाडि प्रदर्शन गरे ।
“यस वर्षको बजेटमा अनुदानको विषय नसमेटिएपछि निरन्तर सरकारको ध्यानाकर्षण गराउँदै आएका छौँ”, उखु उत्पादक कृषक सङ्घका अध्यक्ष नरेशसिंह कुशवाहाले भने, “विश्वास छ, हाम्रो मागको सुनवाइ हुनेछ ।” उखुखेती किसान आफ्ना प्रतिनिधि संस्था उखु उत्पादक कृषक महासङ्घ र उखु उत्पादक कृषक संघ पदाधिकारीका साथ आन्दोलनमा छन् ।
उखु उत्पादक कृषक महासंघका सदस्य महाशङ्कर थिङका अनुसार किसानले मुख्य रूपले उखुखेतीमा सरकारले दिँदै आएको अनुदानलाई निरन्तरता दिनुपर्ने, गत आर्थिक वर्ष २०८१/८२ को अनुदानबापतको रकम तुरुन्त किसानलाई उपलब्ध गराउनुपर्ने, बर्सेनि उखुको मूल्य निर्धारण गरिनुअघि उखु किसानका प्रतिनिधि, चिनी उद्योग र सरकारबीच सहमति गरिनुपर्ने लगायतका माग किसानले राखेका छन् । माग सम्बोधन नभए आगामी भदौ ८ गतेदेखि राजधानीकेन्द्रित आन्दोलन गर्ने संघले जनाएको छ ।
महोत्तरीमा गत आव २०८१र८२ को यामको उखुबाट किसानले रु २१ करोड ७२ लाख ९१ हजार रकम पाउनुपर्ने छ । महोत्तरीमा आव २०८१र८२ मा अनुदान पाउनुपर्ने किसानको सङ्ख्या १४ हजार ५३३ छ । यसपालि यो सङ्ख्या १५ हजारमाथि पुग्ने उखु उत्पादक कृषक सङ्घका अध्यक्ष कुशवाहाको भनाइ छ । आव २०८०/८१ मा भने जिल्लाका १४ हजार ४४४ किसानले अनुदानबापतको जम्मा रु २० करोड ३३ लाख पाएका थिए ।


















