Dhulikhel Eco Banner new

अर्थतन्त्रमा सुधारको संकेत, आर्थिक वृद्धिदर ४.६१ प्रतिशत (पूर्णपाठसहित)

3.91K
shares

काठमाडौं, ८ भदौ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को वार्षिक तथ्यांक सार्वजनिक गर्दै देशको आर्थिक तथा वित्तीय स्थिति सकारात्मक रहेको जनाएको छ। बैंकका अनुसार उक्त आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको ३.६७ प्रतिशतभन्दा उल्लेख्य रूपमा बढी हो।

प्रतिवेदनअनुसार आर्थिक वृद्धिसँगै आयात १३.३ प्रतिशतले वृद्धि भई १८०४ अर्ब १२ करोड पुगेको छ भने निर्यात ८१.८ प्रतिशतले बढेर २७७ अर्ब ३ करोड पुगेको छ। यसले व्यापार गतिविधिमा गति आएको देखाउँछ।

विप्रेषणमा पनि वृद्धि देखिएको छ। नेपाली रुपैयाँमा विप्रेषण १९.२ प्रतिशत र अमेरिकी डलरमा १६.३ प्रतिशतले बढेको छ। यसले देशको वैदेशिक आयमा मजबुती ल्याएको छ।

विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १९ अर्ब ५० करोड पुगेको छ भने बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप सङ्कलन १२.६ प्रतिशतले वृद्धि भई ७२ खर्ब ६४ अर्ब पुगेको छ। यसैगरी निजी क्षेत्रमा प्रवाहित कर्जा ८.४ प्रतिशतले वृद्धि भई ५४ खर्ब ९८ अर्ब पुगेको छ।

अर्थतन्त्रमा देखिएको यी सकारात्मक संकेतहरूले आगामी दिनमा आर्थिक गतिविधिहरू थप सुदृढ हुने अपेक्षा गरिन्छ। नेपाल राष्ट्र बैंकले वित्तीय स्थिरता र आर्थिक विकासलाई प्राथमिकता दिएर नीति निर्माणमा निरन्तरता दिने जनाएको छ।