आज राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा
वि.सं.२०८२ असोज १ बुधवार ०९:५६
shares

काठमाडौं, १ असोज । सरकारले भ्रष्टाचारविरुद्धको आन्दोलनका क्रममा ज्यान गुमाएका जेनजी युवाहरूको सम्झनामा आज देशभर सार्वजनिक बिदा दिएको छ।
गत भदौ २३ र २४ गते सम्पन्न आन्दोलनको क्रममा कम्तीमा ७२ जना युवाहरूको ज्यान गएको पुष्टि भएको छ। उनीहरूको बलिदानको सम्मानस्वरूप भदौ ३० गते बसेको अन्तरिम मन्त्रिपरिषद् बैठकले असोज १ गतेलाई राष्ट्रिय शोक दिवस घोषणा गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
सो निर्णय अनुसार आज मुलुकभरका सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिइएको छ। साथै, सबै सरकारी निकायहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ।
शहीद भएका युवाहरूको शवयात्रा मंगलबार पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ सम्पन्न गरिएको थियो। कतिपय युवाहरूको पार्थिव शरीर उनीहरूको जन्मथलोमा पु(याई अन्त्येष्टि गरिएको छ।
सरकारले आन्दोलनमा ज्यान गुमाएका युवाहरूको योगदानलाई ‘लोकतन्त्र र पारदर्शिताको मार्गमा ऐतिहासिक बलिदान’ भन्दै उच्च सम्मान व्यक्त गरेको छ। शोकको यस अवसरमा विभिन्न स्थानमा श्रद्धाञ्जली सभाहरू तथा दीप प्रज्वलन कार्यक्रमहरू आयोजना गरिएका छन्।
यो राष्ट्रिय शोक दिवसले भ्रष्टाचारविरुद्ध जनताले देखाएको ऐक्यबद्धता र युवाहरूको जागरणलाई अझ व्यापक बनाउने विश्वास जनाइएको छ।



















