Dhulikhel Eco Banner new

आज देशभर विश्वकर्मा पूजा पर्व मनाइदै

3.68K
shares

काठमाडौं, १ असोज । नेपालभरका कालीगढहरुले आज विधिपूर्वक पूजा गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व भव्य रुपमा मनाइदै छ। प्रत्येक वर्षको आश्विन सङ्क्रान्तिका दिन पर्ने यो पर्वमा विभिन्न कलकारखाना, वर्कसप, निर्माण कम्पनी तथा सवारीसाधन समेतमा विशेष पूजाआजा गरिन्छ।

विश्वकर्मा भगवानलाई सृष्टिकर्ता, महान निर्माणकर्ता तथा शिल्पका आदिदेवका रुपमा पूजा गरिन्छ। यही श्रद्धामा आज बिहानैदेखि कालीगढहरुले आफ्ना औजार, मेसिन, सवारीसाधन र कार्यस्थलहरूमा विश्वकर्माको पूजा आराधना गरेका छन्।

काठमाडौं उपत्यकासहित देशभरका कलकारखानामा बालुवा वा अन्य पदार्थबाट बनाइएका विश्वकर्माको मूर्तिमा विधिपूर्वक पूजा गरी पर्व मनाइएको हो। पूजा सम्पन्न भएपछि उक्त मूर्ति बागमतीको मुहान सुन्दरीजल वा अन्य शुद्धस्थलमा लगी विसर्जन गर्ने परम्परा रहेको छ। यस वर्ष मूर्ति विसर्जन बिहीबार गरिने जनाइएको छ।

धार्मिक विश्वास अनुसार, विश्वकर्मा पूजाका दिन औजार तथा मेसिनरी उपकरणमा पूजा गर्दा ती लामो समयसम्म टिक्ने, कामका बेला नबिग्रने र उत्कृष्ट नतिजा दिने विश्वास गरिन्छ। यही कारणले आजका दिन सवारीसाधनदेखि ठूला उद्योगसम्म यन्त्रहरूमा समेत पूजा गरिएको छ।

कालीगढहरुले विश्वकर्मा बाबाको पूजा गर्दै उनको ज्ञान, सीप र सृजनात्मक क्षमताको सम्मान गर्ने गर्दछन्। उनीहरू विश्वास गर्छन् कि यसरी पूजा गर्दा आफूमा पनि विश्वकर्माका गुण समावेश हुनेछन्।