वित्तीय संस्थाहरूलाई शंकास्पद कारोबार रिपोर्टिङमा सुधार गर्न राष्ट्र बैंकको निर्देशन
वि.सं.२०८२ असोज ३१ शुक्रवार १४:४४
shares

काठमाडौं, ३१ असोज । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले शंकास्पद कारोबार तथा गतिविधि पहिचान गर्न आवश्यक मार्गदर्शन प्रदान गर्ने उद्देश्यले नयाँ निर्देशन सार्वजनिक गरेको छ।
सम्पत्ति शुद्धीकरण तथा आतंकवाद वित्तपोषणसम्बन्धी ऐनअनुसार सूचक संस्थाहरूले पेश गर्नुपर्ने शंकास्पद कारोबार प्रतिवेदनको गुणस्तरमा सुधार ल्याउने हेतुले उक्त निर्देशन तयार पारिएको हो।
निर्देशनमा सूचकहरूलाई वर्गीकृत गरेर सरल, व्यवस्थित, र प्रयोगमैत्री ढंगमा प्रस्तुत गरिएको छ, जसले गर्दा कारोबारको प्रकृति बुझ्न र अनियमित गतिविधि छिटो चिन्न सजिलो हुने अपेक्षा गरिएको छ।
बैंक, वित्तीय संस्था, बीमा कम्पनी लगायतका संस्थाहरूका लागि उनीहरूको सेवा र संरचनाअनुसार सम्बन्धित सूचकहरू समावेश गरिएको छ।
अद्यावधिक निर्देशनमा पहिलेकोभन्दा थप सूचकहरू समेटिएका छन्, जसमा डिजिटल कारोबार, जटिल लेनदेन संरचना, अस्वाभाविक कारोबार ढाँचा जस्ता संकेतहरू विशेषरूपमा उल्लेख गरिएका छन्।
यस निर्देशनले मनी लाउण्डरिङ मात्र होइन, कानुन विपरीत आम्दानी लुकाउने वा प्रयोग गर्ने सम्भावित गतिविधिहरूको पहिचानमा पनि मद्दत गर्ने विश्वास गरिएको छ।
शंकास्पद कारोबारको रिपोर्ट पेश गर्दा पालना गर्नुपर्ने प्रक्रिया, समयसीमा र विवरणहरू पनि स्पष्ट रूपमा उल्लेख गरिएको छ।
वित्तीय जानकारी इकाईले यो निर्देशन प्रणालीमार्फत सूचक संस्थाहरूमा पठाइसकेको छ र सबै संस्थाहरूलाई त्यसको अध्ययन गरी कार्यान्वयनमा ल्याउन अनुरोध गरेको छ।















