Dhulikhel Eco Banner new

पैसा पठाउँदा मात्र क्युआर स्क्यान गर्नुपर्छः राष्ट्र बैंक

2.43K
shares

काठमाडौं, ३ कात्तिक । डिजिटल कारोबारको प्रयोग बढ्दै गइरहेको अवस्थामा नेपाल राष्ट्र बैंकले क्युआर कोडमार्फत हुने भुक्तानी गर्दा सतर्कता अपनाउन आम नागरिकहरूलाई आग्रह गरेको छ। क्युआर कोड प्रयोग गर्दा हुने वित्तीय ठगीका घटनाहरू बढ्न थालेपछि राष्ट्र बैंकले यस्तो सचेतना जारी गरेको हो।

राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाबाट जारी सूचनाअनुसार, ‘पैसा पठाउँदा मात्र क्युआर कोड स्क्यान गर्नुपर्छ, तर पैसा प्राप्त गर्न क्युआर कोड स्क्यान गर्नु पर्दैन।’ बैंकले कसैले ‘पैसा पठाउँदैछु, स्क्यान गर्नुहोस्’ भन्दै क्युआर कोड पठाएमा त्यो वित्तीय ठगीको माध्यम हुन सक्ने भन्दै त्यसबाट सावधान रहन चेतावनी दिएको छ।

क्युआर कोडको सही प्रयोगको जानकारी दिँदै राष्ट्र बैंकले थप स्पष्ट पारेको छ कि पैसा पठाउने व्यक्तिले मात्र क्युआर स्क्यान गर्छन्, पैसा प्राप्त गर्न चाहनेले आफ्नो क्युआर कोड दिनुपर्छ, अरूको स्क्यान गर्नु हुँदैन। क्युआर कोडको गलत प्रयोगबाट ग्राहकहरूको पैसा हराउने वा ठगीमा पर्ने सम्भावना हुने भएकाले सतर्कता अनिवार्य रहेको राष्ट्र बैंकले जनाएको छ।