Dhulikhel Eco Banner new

ब्रोकर कम्पनी थपिने पक्का, कार्यविधिको मस्यौदा अर्थ पुग्यो

19.19K
shares

काठमाडौं, ९ असार । नयाँ ब्रोकर कम्पनीका लागि सञ्चालन अनुमति लाइसेन्स दिने प्रक्रिया नेपाल धितोपत्रब बोर्डले सुरु गरेको छ । बोर्डले नयाँ कम्पनीहरुलाई लाइसेन्स दिनका लागि कार्यविधिको मस्यौदा समेत तयार पारेको छ ।

बोर्ड श्रोतका अनुसार कार्यविधि अर्थमन्त्रालय पुगेको छ । अर्थमन्त्री जनार्दन शर्माले ओके भनेपछि काम अघि बढ्ने बोर्ड निकट श्रोत बताउछ । ब्रोकर कम्पनीको लाइसेन्स बाड्नका लागि बोर्डले नेपाल स्टक एक्सचेञ्ज मार्फत अध्ययन समेत गराएको थियो ।

अध्ययनले ब्रोकर कम्पनी थपेर पुँजी बजारको विस्तार गर्न सकिने निष्कर्श निकालेको भन्दै बोर्डले एक सय वटा ब्रोकर कम्पनीहरुलाई लाइसेन्स दिने गरी योजना बनाएको छ । अध्ययनले देशभर करिब २ सय ब्रोकर थपे पनि बजार धान्न सक्ने निष्कर्श निकालेको छ ।

जनसंख्याका आधारमा प्रदेश १ मा ३०, मधेस प्रदेशमा ३३, वाग्मतीमा ४५, गण्डकीमा २०, लुम्बिनीमा २५ कर्णालीमा १० र सुदूरपश्चिममा १५ गरी १ सय ७८ वटा ब्रोकर संख्या थप्न प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अध्ययन पछि नेपाल स्टक एक्सचेञ्जले कार्यविधि बनाएको थियो । कार्यविधिको मस्यौदा धितोपत्र बोर्डमा भने पुगेको छैन । बोर्डका उपकार्यकारी निर्देशक रुपेश केसीले कार्यविधिको मस्यौदा बोर्ड आइनसकेको बताए ।

यद्यपि, अर्थमन्त्रालय भने कार्यविधि पुगिसकेको छ । अर्थमन्त्रालयका सहसचिव चक्रबहादुर बुढा नै नेप्से सञ्चालक समितिको अध्यक्ष हुन् । कार्यविधि नेप्सेको सञ्चालक समितिले पास गरेर बोर्डमा पुग्नु पर्ने थियो । अब अर्थमन्त्रीले ‘ओके’ भने पछि काम अघि बढ्ने श्रोत बताउछ । श्रोतका अुनसार यसमा बोर्ड अध्यक्ष रमेश कुमार हमालले मन्त्रालयको निर्णयमा आफ्नो सहमति रहेको बताएका छन् ।