उपदान तथा पेन्सन कोषको ३ अर्ब ५३ करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्दै राष्ट्र बैंक
वि.सं.२०८२ मंसिर २ मंगलवार ०९:३२
shares

काठमाडौं, २ मंसिर । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा सञ्चित ३ अर्ब ५३ करोड रुपैयाँ बराबरको रकम एक वर्षका लागि बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने निर्णय गरेको छ। यसका लागि केन्द्रीय बैंकले सार्वजनिक गरेको सूचनामा इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र प्रस्तावित ब्याजदरसहित मङ्गलबार साँझ ७ बजेसम्म आवेदन दिनुपर्ने उल्लेख गरिएको छ।
राष्ट्र बैंकले वाणिज्य बैंकका लागि २ अर्ब ८२ करोड ४० लाख, विकास बैंकका लागि ५२ करोड ९५ लाख र वित्त कम्पनीका लागि १७ करोड ६५ लाख बराबरको रकम लगानी गर्न लागेको जनाएको छ। लगानीका लागि आवेदन गर्ने बैंक तथा वित्तीय संस्थाले कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको, न्यूनतम कूल पुँजीकोष कायम राखेको, कूल कर्जा–सापटी अनुपात ८ प्रतिशतभन्दा नबढेको र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशतभित्र रहेको हुनुपर्ने शर्त राखिएको छ।















