Dhulikhel Eco Banner new

व्यवसायिक कारोबारमा व्यक्तिगत क्यूआर प्रयोग नगर्नुहोस्ः राष्ट्र बैंक

3.09K
shares

काठमाडौं, १६ मंसिर । नेपाल राष्ट्र बैंकले व्यवसायिक कारोबारका लागि व्यक्तिगत क्यूआर कोडमार्फत भुक्तानी लिने प्रवृत्ति गैरकानुनी भएको भन्दै यसको फाइदा–बेफाइदाबारे सार्वजनिक रूपमा सचेतना जारी गरेको छ। बैंकले आज जारी गरेको चेतनामूलक सूचनामा व्यवसायिक र व्यक्तिगत क्यूआर प्रयोग गर्दा हुने प्रभावबारे जनतालाई अवगत गराइएको छ।

राष्ट्र बैंकका अनुसार व्यावसायिक क्यूआर कोड प्रयोग गर्दा कुनै अतिरिक्त शुल्क नलाग्ने, भुक्तानी रकम सीधै व्यापारीको बैंक खातामा जम्मा हुने, कारोबार प्रमाणित र सुरक्षित रहने तथा कर प्रणालीमा पारदर्शिता कायम रहने उल्लेख गरिएको छ। यसले अनलाइन कारोबारलाई प्रवर्द्धन गर्ने र राष्ट्रको आर्थिक विकासमा समेत योगदान पुर्‍याउने बैंकको भनाइ छ।

तर, व्यक्तिगत क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा भने अतिरिक्त शुल्क लाग्ने, रकम व्यक्तिगत खातामा जाने र कारोबार अनौपचारिक क्षेत्रमा प्रवाह हुन सक्ने जोखिम बैंकले बताएको छ। यसले कर छल्ने सम्भावना बढाउने र वित्तीय प्रणालीमा पारदर्शिता कमजोर बनाउने चेतावनी राष्ट्र बैंकले दिएको छ।

बैंकले व्यवसायिक प्रयोजनका लागि अनिवार्य रूपमा व्यावसायिक क्यूआर प्रयोग गर्न सबै व्यापारी तथा सेवा प्रदायकलाई आग्रह गर्दै उपभोक्तालाई पनि भुक्तानी गर्दा क्यूआरको प्रकार पहिचान गर्न सुझाव दिएको छ।