चार महिनामा बैंकिङ निक्षेप ३.१ प्रतिशतले वृद्धि
वि.सं.२०८२ पुस २ बुधवार १६:५९
shares

काठमाडौं, २ पुस । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा बैंक तथा वित्तीय संस्थाहरूले संकलन गर्ने निक्षेप ३.१ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउनदेखि कात्तिकसम्मको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा निक्षेपमा वृद्धि देखिएको हो ।
राष्ट्र बैंकका अनुसार हाल नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा कुल निक्षेप ७४ खर्ब ८६ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष २०८१/८२ को साउनदेखि कात्तिकसम्मको अवधिमा भने निक्षेप १ खर्ब ४९ अर्ब ८४ करोड रुपैयाँले बढेको थियो ।
२०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती निक्षेपको अंश ६।० प्रतिशत, बचत निक्षेपको अंश ३९.२ प्रतिशत र मुद्दती निक्षेपको अंश ४५.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अंश क्रमशः ५.३ प्रतिशत, ३२.८ प्रतिशत र ५४.५ प्रतिशत रहेका थिए ।
त्यसैगरी, २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष २०८१ कात्तिक मसान्तमा यस्तो निक्षेपको अंश ३५.८ प्रतिशत रहेको थियो ।

















