डेढ महिनामा १४ अर्ब बढीको अनुदान र ऋण सम्झौता
वि.सं.२०७९ भदौ १६ बिहीवार १७:०८
shares

काठमाडौं, १६ भदौ । सरकारले चालू आर्थिक वर्षको डेढ महिनामा १४ अर्ब ९ करोड १० लाख रुपैयाँ बढीको अनुदान र ऋण सम्झौता गरेको छ । अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको चालु आवको डेढ महिनाको प्रगति विवरण अनुसार सरकारले दातृ निकायसँग सो बराबरको अनुदान तथा ऋण सम्झौता गरेको हो ।
मन्त्रालयका अनुसार प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिमका लागि स्वीट्जरल्याण्ड सरकारसँग ९९ करोड १० लाख रुपैयाँ बराबरको अनुदान सहायता प्राप्तिको लागि सम्झौता भएको छ । त्यस्तै नेपालमा हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) को लागि नेपाल सरकार र विश्व बैंकबीच करिब १२ अर्ब ७५ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौत भएको छ ।
मानव श्रोत विकास सम्बन्धमा जापान सरकारसँग ३५ करोड बराबरको अनुदान सहायता प्राप्तिको लागि सम्झौता गरिएको मन्त्रालयले प्रगति विवरणमा उल्लेख गरेको छ ।















