Dhulikhel Eco Banner new

साढे पाँच महिनामा कालो सूचीमा पर्नेको संख्यामा १८९ प्रतिशतले वृद्धि

4.81K
shares

काठमाडौं, २० पुस । पछिल्लो समय कालो सूचीमा पर्नेको संख्या ह्वात्तै बढेको छ । कर्जा सूचना केन्द्रको तथ्यांक अनुसार चालू आर्थिक वर्षको साढे पाँच महिनाको अवधिमा मात्रै कालो सूचीमा पर्नेको संख्यामा १९८.७८ प्रतिशतले वृद्धि भएको हो ।

चालू आर्थिक वर्षको पुस १८ गतेसम्मको तथ्यांक अनुसार कालो सूचीमा पर्नेको संख्या १४ हजार ३७१ पुगेको हो । तथ्यांक अनुसार चेक बाउन्स र बैंकको ऋण तिर्न नसकेका कारण हजारौं व्यक्त तथा संस्थाहरु कालो सूचीमा परेका छन् ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कालो सूचीमा पर्नेको संख्या १८९.७८ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा कालो सूचीमा पर्नेको संख्या ४ हजार ९५९ रहेको कर्जा सुचना केन्दले जनाएको छ । यस्तै पुस सुरु भएयता १८ दिनको अवधिमा मात्रै कालो सूचीमा पर्नेको संख्या ८७ पुगेको छ ।

गत आर्थिक वर्षको पुस १८ गतेसम्म भन्दा चालू आर्थिक वर्षको पुस १८ गतेसम्म कालोसूचीमा पर्नेको संख्यामा ९ हजार ४१२ ले बढेको छ । कुनै पनि कम्पनी वा व्यक्तिले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्ने अवधि ९० दिनभन्दा बढी भएमा त्यस्तो ऋणी कालो सूचीमा पर्ने गर्दछ । साथै कुनै व्यक्तिले कसैलाई चेक दियो र चेकमा पर्याप्त रकम छैन भने पनि उसलाई कर्जा सूचना केन्द्रको कालो सूचीमा राख्ने गर्दछ ।

बैंकले भाका नाघेको ऋणको सम्पूर्ण विवरण प्रत्येक आर्थिक वर्षको त्रैमासिक सकिएको मितिले १५ दिनसम्म पनि ऋण चुक्ता नभए कर्जा सूचना केन्द्रमा पठाउनु पर्ने हुन्छ । बैंकले नयाँ कर्जा प्रवाह गर्न, पुरानो कर्जा नवीकरण गर्न, पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्नु अगावै ग्राहकको बारेमा कर्जा सूचना केन्द्रबाट अनिवार्यरुपमा कर्जा सूचना लिनुपर्ने व्यवस्था रहेको छ ।