Dhulikhel Eco Banner new

ठूलो बैंक बन्दा थपिएको चुनौति सहज रुपमा सामना गर्छौं : अध्यक्ष ढकाल

5.38K
shares

काठमाडौं, २५ पुस । ग्लोबल आइएमई बैंकले बैंक अफ काठमाण्डूलाई प्राप्त गरेसँगै नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ । सबैभन्दा ठूलो बैंकका रुपमा सोमबारदेखि कारोबार सुरु गरेको बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले ठूलो बैंक बनेसँग थप चुनौति थपिएको बताएका छन् ।

दुई बैंक मर्जर पश्चात् एकीकृत कारोबारको सुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले अधिकांश सूचकमा पहिलो बनेको बताउँदै यसले चुनौति पनि थपिएको बताए । ग्लोलब आइएमई बैंकसँग हालसम्म ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक र ६ वटा फाईनान्स कम्पनी मर्ज भइसके पनि उनले जानकारी दिए । त्यस्तै ग्लोबल आइएमई बैंकले मुलुकको वित्तीय क्षेत्रको १० प्रतिशत हिस्सा ओगटेको पनि बताए ।

ठूलो बैंक भएसँगै मुख्य रुपमा जोखिम र व्यवस्थापकीय चुनौति रहेपनि पटक पटक मर्जर गरेको अनुभव रहेका कारण सहज रुपमा चुनौतिको सामना गर्ने उनको भनाइ छ । ढकालले खाडीमा नेपालीले कमाएको पैसा घरघरमा ईमान्दारिता पूर्वक पुर्याएको भन्दै त्यसको आशिर्वाद लागेको र आगामी दिनमा पनि इमान्दारितापूर्वक काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

बैंक अफ काठमाण्डूलाई मर्ज गरेसँगै बैंकको कुल पुँजी ५७ अर्ब, चुक्ता पुँजी ३५ अर्ब ७७ करोड, कुल निक्षेप ४ खर्ब १२ अर्ब, कुल कर्जा ३ खर्ब ७७ अर्ब पुगेको छ । यस्तै कुल सम्पति ५ खर्ब ५ अर्ब, ग्राहक संख्या ४० लाख बढि रहेको बैंकले जनाएको छ ।

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना संचालक रहनेछन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन् ।

मर्जर पश्चात कुल ३६५ शाखा कार्यालय, ३६७ एटिएम, २८६ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ४० लाख भन्दा बढि ग्राहकहरु सहित अन्य धेरै वित्तीय परिसुचकहरुमा ग्लोबल आइएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठुलो बैंक हुनेछ ।