GBIME

चुनावी प्रतिवद्धता कार्यान्वयनमा जुटे विनोद चौधरी, समस्या बुझ्न जनतासँग संवाद

1.14K
shares

काठमाडौं, २ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरी चुनावी प्रतिवद्धता कार्यान्वयनमा जुटेका छन् । उनी अहिले आफू निर्वाचीत भएको नवलपरासी क्षेत्र नम्बर १ मा त्यहाँका स्थानीयसहरुसँग त्यहाँका समस्याका बारेका छलफलमा रहेका हुन् ।

चुनावको समयमा अफूले गरेका प्रतिवद्धतालाई कार्यान्वयन गर्नेका लागि उनले छलफल सुरु गरेका हुन् । चौधरीले आइतबार मात्रै सरावल गाउँपालिका र प्रतापपुर गाउँपालिकाका विभिन्न वडामा पुगेर त्यहाँका स्थानीयसँग विकास निर्माण र स्थानीय समस्याकाबारे छलफल गरेका हुन् । छलफलका क्रममा स्थानीयले बाढी, डुवान र सिचाईको समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

सरावल गाउँपालिका ६ का झिंकु सिंह चौधरीले डुवानले वर्षेनी समस्या हुने गरेको भन्दै दीर्घकालीन समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए । ‘हामीले प्रत्येक वर्ष डुवानको समस्या झेल्दै आएका छौं । सरकारले सधैं आश्वासन मात्रै दिन्छ तर कहिल्यै पनि समस्या समाधानका लागि गम्भीर देखिएन,’ उनले भने, ‘तपाई सांसद निर्वाचित हुनुभएको छ । अब हाम्रो यो समस्या समाधान हुनेछ भन्ने आशा गरेका छौं ।’

त्यस्तै प्रतापपुर गाउँपालिका वडा नंं ५ का रामजी सिंहले सिचाईको समस्याबारे सांसद चौधरीलाई जानकारी गराएका थिए । ‘सिचाईको भरपर्दाे व्यवस्था नहुँदा किसानहरुले ठूलो समस्या भोग्दै आएका छौं, उनले भने, ‘सिचाँईको समस्या समाधानका लागि नहरमा नियमित पानी आउने व्यवस्था गरिदिनु परो ।’ सांसद चौधरीले आफूले निर्वाचनका बेला गरेका प्रतिवद्धता कार्यान्वयनका लागि प्रतिवद्ध रहेको प्रष्ट पारेका थिए । ‘हामीले चुनावका बेला जे जेति काम गर्छाैं भनेका थियौं । ति कार्यान्वयन गर्ने गरी काम सुरु गरिसकेका छौं । कतिपय कामको थालनी नै भइसकेको छ,’ उनले भने ।

चौधरीले पश्चिम नवलपरासीको दक्षिण भेगमा बर्षाेनी हुने डुवानको समस्या समाधानका लागि पहल भइसकेको जानकारी दिए । नेपाल सरकार र भारत सरकारबीच नै डुवान समस्याका बारेमा उच्चतहमा छलफल भइरहेको उनको भनाइ थियो । त्यस्तै निर्वाचन क्षेत्रको समग्र विकासका लागि स्पष्ट कार्ययोजनासहित खाका बनाउने काम पनि भइरहेको चौधरीले बताए ।

उनले निर्वाचन क्षेत्रको विकासका लागि व्यवस्थित कार्ययोजना बनाएर काम हुने गरिने स्थानीयलाई आश्वासन दिएका थिए । सोही अवसरमा प्रदेश सभा सदस्य सन्तु कलवारले यस क्षेत्रको बाढी तथा डुवानको समस्या समाधान गर्न प्रतिनिधिसभा सदस्य चौधरीसँग समन्वय गरेर आफूले पनि काम गरिरहेको जानकारी गराएका थिए ।