GBIME

विकास हाइड्रोको साधारण सभा सम्पन्न, छिट्टै व्यवसायिक विद्युत उत्पादन शुरु गर्ने

1.13K
shares

काठमाडौं २ माघ । गोरखा जिल्लाको माछाखोलामा निर्मित विकास हाईड्रोपावर कम्पनी लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । कम्पनीको साधारणसभा काठमाडौंको भिनोलिभा रेस्टुरेन्टमा सम्पन्न भएको हो ।

साधारणसभामा अहिलेसम्मको आय ब्यय विवरण पेश गर्नुको साथै बहुमत शेयर सदस्यहरुबाट पाससमेत भएको छ । विकास हाईड्रोपावरले अबको केही दिनमा नै आफ्नो उत्पादन शुरू गर्ने हाइड्रोका अध्यक्ष खगेन्द्र न्यौपानेले जानकारी दिए । गोरखा जिल्लाको दुर्गम गाउँमा बनेको हाईड्रोपावरमा गैर आवासीय नेपालीहरूको ठुलो लगानी रहेको एनआरएनए आईसीसीका सचिव एबं हाइड्रोका अध्यक्ष खगेन्द्र न्यौपानले बताए । साधारणसभामा विकास हाईड्रोपावरका प्रवन्ध निर्देशक कृष्ण घिमिरेले सबैको प्रयासले यो आयोजना निर्माणको अन्तिम चरणमा रहेको बताए ।

उक्त हाईड्रोको अध्यक्षमा न्यौपाने, प्रवन्ध निर्देशकमा घिमिरे र निर्देशकहरुमा सरोज धिताल, जोन घले, इन्द्र बहादुर ढकाल, सुनिल श्रेष्ठ रहेका छन । उक्त कार्यक्रममा संचालक समितिले हाइड्रोका विविध बिषयमा प्रकाश पारेका थिए । ४.५५ मेगावाट क्षमताको उक्त आयोजना सम्पन्न गरेसँगै अर्को आयोजना सञ्चालन गर्ने योजना रहेको बताइएको छ ।

उक्त कार्यक्रममा संचालक समितिको तर्फबाट अध्यक्ष न्यौपानेले प्रस्तुत गरेको आथिृक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिएको थियो । कार्यक्रममा लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ अषाढ मसान्तको बासलात, २०७८ श्रावण १ गते देखि २०७९ आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसुचीहरु उपर छलफल गरी पारित गरिएको थियो । यस्तै कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०७८/७९ को लागि लेखापरिक्षण समितिको सिफारिसमा लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्त समेत गरिएको छ । साथै लेखापरीक्षकको पारिश्रमिकसमेत तोकिएको छ । साधारण सभाले खरिद सम्झौताहरुलाई अनुमोदन समेत गरेको छ ।

साधारण सभाले प्राथमिक शेयर जारी गर्ने सम्बन्धमा विशेष प्रस्तावहरु समेत पारित गरेको छ । जसमा प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, प्रबन्धपत्र र नियमावलीमा भएको संशोधन नियमनकारी निकायहरु (कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, विद्युत नियमन आयोग) ले कुनै फेरबदल संशोधन परिमार्जन गर्न वा मिलाउन कुनै सुझाव वा निर्देशन दिएमा सोही अनुरूप आवश्यक समायोजन गर्न हाइड्रोपावरको संचालक समितीलाई अख्तियारी प्रदान गर्ने, कम्पनीले संचालन तथा विकास गरिरहेको आयोजनाहरुको लागि बैंक तथा वित्तिय संस्थाबाट लिने आवश्यक कर्जा कम्पनी ऐनको दफा १०५(ख) अनुरुप तोकिएको सिमाभन्दा बढी रहेको हुँदा कर्जा अनुमोदन गर्ने तथा आयोजनाहरुको निर्माणको लागि थप आवश्यक कर्जा लिन संचालक समितिलाई अख्तियारि प्रदान गर्ने निर्णय समेत गरेको छ ।