GBIME

महंगियो नेपालीको भान्छा, मूल्य वृद्धि ७ प्रतिशत बढी

1.07K
shares

काठमाडौं, २३ माघ । अघिल्लो वर्षको तुलनामा यो वर्षको पुस मसान्तसम्मको अवधिमा २ प्रतिशतभन्दा बढीले मूल्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म मूल्य वृद्धि ७.२६ प्रतिशतले बढेको हो ।

केन्द्रीय बैंकको तथ्यांक अनुसार अघिल्लो वर्ष सोही अवधिमा ५.६५ प्रतिशतको मूल्य वृद्धि रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि ५.६२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ८.५७ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १५.५६ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.७० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.५६ प्रतिशत, र मदिराजन्य पेय पदार्थको ८.८४ प्रतिशतले बढेको छ ।

त्यस्तै गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप– समूहको मूल्य सूचकाङ्क १६.४३ प्रतिशत, स्वास्थ्यको ११.२२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.७६ प्रतिशत, विविध वस्तु तथा सेवाको ८.६८ प्रतिशत र फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ८.३३ प्रतिशतले बढेकोछ । समीक्षा महिनामा काठमाडौं उपत्यकामा ६.९३ प्रतिशत, तराईमा ७.४९ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र
हिमालमा ६.६९ प्रतिशतको मूल्य वृद्धि रहेको छ । २०७८ पुस महिनामा यी क्षेत्रहरुमा क्रमशः ५.२८ प्रतिशत, ६.१५ प्रतिशत, ५.३४ प्रतिशत र ५.२२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

२०७९ पुस महिनामा वार्षिक बिन्दुगत थोक मूल्य वृद्धि ९.८२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुल्य वृद्धि ८.०८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ४.४७ प्रतिशत, १३.८० प्रतिशत र ४.५० प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १०.६७ प्रतिशत रहेको छ ।