Dhulikhel Eco Banner new

व्यवसायीलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह– ‘निराश नहुनुस, अर्थतन्त्रमा सुधारा हुँदै छ’

6.25K
shares

काठमाडौं, १४ फागुन । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायीहरुलाई धेरै निराश नहुन आग्रह गरेका छन् । नेपालगंज उद्योग वाणिज्य संघको २१औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अर्थतन्त्रका धेरै सूचकहरु सुधारोन्मुख रहेको र अहिलेको भन्दा परिस्थिति नबिग्रने बताउँदै व्यवसायीहरुलाई निराश नहुन आग्रह गरेका हुन् ।

‘अर्थतन्त्रका धेरै सुचकहरु विस्तारै विस्तारै सकारात्मक हुँदै आएका छन् । हामी व्यवसायीहरु जस्तोसुकै असजिलो आउँदा पनि हडबडाउनु हुँदैन । नैराश्यताले हामी आफैलाई हानी गर्छ,’ उनले भने । छिमेकी राष्ट्र श्रीलंकाको अर्थतन्त्रमा समस्या देखिएको हुनाले नेपालले केही कसिलो नीतिहरू अपनाउँदा नेपालको अर्थतन्त्रमा समस्या देखिएको र व्यवसायीहरू मर्कामा परेको भन्दै यसमा विस्तारै सुधार भइरहेको उनको भनाइ थियो ।

आफू उपस्थित हुने हरेक कार्यक्रममा बैंकको ब्याजसम्बन्धी कुराहरु उठ्ने गरेको बताउँदै कुनै एक बैंक वा वित्तीय संस्थाको सञ्चालकले मात्र ब्याजदर परिवर्तन गर्न असम्भव रहेको उनले बताए । ‘म जुन कार्यक्रमहरुमा सहभागी हुन्छु त्यहाँ बैंकको ब्याजदर सम्बन्धी विषयहरु उठ्ने गरेको छ । धेरै साथीहरुले बैंकको सञ्चालक भएकै कारण मैले चाहेको खण्डमा ब्याजदर घटाउन सक्ने र बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव समाधान हुने खालको अभिव्यक्तिहरु दिने गर्नुभएको छ । म के कुरा स्पष्ट पार्न चाहन्छु भने यो कुनै एउटा बैंकको सञ्चालक वा लगानीकर्ताले निर्धारण गर्ने वा चाहनाले परिवर्तन गर्ने कुरा होइन,’ उनले भने ।

जिल्ला नगरका साथीहरुले ब्याजदर बारे आन्दोलनका कार्यक्रमहरु गरिरहेको र महासंघको केन्द्रीय नेतृत्वले कुनै प्रयास नगरेको भन्ने प्रश्नमा आफ्नो धारणा राख्दै ढकालले महासंघको नेतृत्वले गरेको निरन्तर पहलकै कारण नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले व्यवसायीहरुका धेरै गुनासाहरु सम्बोधन गरेको दाबी गरे ।

‘हामीले हाम्रो तर्फबाट गरेको निरन्तर पैरवी र पहलले नेपाल राष्ट्र बैंक र नेपाल सरकारले केही कुराहरुमा लचिलो नीति अवलम्बन गरेको छ । जसले गर्दा अहिले हामीलाई हाम्रो व्यवसाय गर्न केही सहज भएको छ । हामी केन्द्रीय नेतृत्व निदाएर बसेका छैनौँ । तपाई हामी व्यवसायीहरूको समस्या केन्द्रसम्म पुर्‍याउने काम नै गरेका छौं,’ उनले भने ।

अबको केही समयपछि महासंघको नेतृत्व सम्हाल्न गइरहेका ढकालले महासंघले निजी क्षेत्रको शिर उचो बनाउने गरी काम गर्ने पनि बताए ।