Dhulikhel Eco Banner new

भोलिबाट अध्यक्ष बन्दै गरेका ढकालले सार्वजनिक गरे आर्थिक संकट समाधानका ५ उपाय

13.07K
shares

काठमाडौं, २८ चैत । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान संकट समाधानको लागि वृहत् राष्ट्रिय विमर्शको प्रस्ताव गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ वार्षिक साधारणसभाको समुद्घाटन समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिलेको अवस्था गम्भीर नबन्दै सबै पक्ष मिलेर समाधान गर्र्नु पर्ने बताएका हुन् ।

अहिलेको अवस्थाबाट पार पाउनका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक, विकास साझेदार, अर्थविद् तथा निजी क्षेत्रको सहभागितामा वृहत राष्ट्रिय विमर्श गरी अर्थतन्त्रको संकटमोचनको रोडम्याप बनाउनुपर्ने उनको भनाइ थियो । वरिष्ठ उपाध्यक्ष ढकाल यो साधारण सभाबाट महासंघको अध्यक्ष बन्दै हुनुहुन्छ ।

‘यतिखेर मुलुकको अर्थतन्त्र संकटको डिलमा छ । आर्थिक गतिविधिहरु शिथिल छन् । आपूर्ति प्रणाली खलबलिएको छ । उद्योगी÷व्यवसायीहरु समस्यामा छौँ । विकास खर्च अत्यन्त न्यून छ । राजश्वले साधारण खर्च समेत धान्न सकिरहेको छैन,’ उनले भने,‘तर, अर्थतन्त्रका सबै सरोकारहरुले बेलैमा बिचार पु¥याउने हो भने अहिलेको आर्थिक समस्यालाई पार लगाउन गाह्रो छैन ।’ उनले हाम्रो जस्तो सानो अर्थतन्त्रलाई केही महिनाभित्र लयमा फर्काउन सम्भव रहेको बताउँदै यसका लागि सरकारले निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्नु पर्ने बताए । अर्थतन्त्रलाई प्राथमिकतामा राख्नुपर्ने र नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीतिमार्फत बजारमा तरलता बढाउने र व्याजदर घट्ने उपकरणहरु ल्याउनुपर्ने आवश्यकता रहेको उनले बताए ।

अर्थतन्त्रलाई सुधार गर्नका लागि उनले आर्थिक संकट समाधानको रणनीति तयार पार्नु पर्ने बताए । त्यस्तै लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने र व्यवसायीहरुको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्नु पर्ने बताए ।

पहिलो– वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने
दोस्रोे– लगानीको वातावरण बनाउने
तेस्रो– राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने
चौथो– दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने
र, पाँचौ– व्यवसायीहरुको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने ।