लघुवित्तले ऋण नविकरणको नाममा बदमासी गरे : कार्यकारी निर्देशक नेपाल
वि.सं.२०७९ चैत २८ मंगलवार १२:५७
shares

काठमाडौं, २८ चैत । नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशक खेति नेपालले लघुवित्त क्षेत्रमा आएका समस्यामा सञ्चालकहरु नै दोषी रहेको बताएका छन् । लघुवित्त सञ्चालकहरुको संस्था माइक्रोफाइनान्स एसोसिएसन अफ नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
नाफा कमाउनको लागी लघुवित्त सञ्चालकले व्यवस्थापकलाई तनाव दिएको उनले बताए । उनी भन्छन् : ‘बैंकको शेयर ४-५ सय हुँदा लघुवित्तको शेयर झण्डै ३ हजार पुगेको छ । ३ हजारमा शेयर किनेर सञ्चालक बन्ने अनि नाफा कमाउनको लागी व्यवस्थापकलाई तनाव दिने तपाईहरु नै होइन् ?’
उनले लघुवित्तले ऋण नविकरणको नाममा बदमासी गरेको बताए ।
सुन्दा अप्रिय लाग्न सक्छ भन्दै उनले लघुवित्तका सञ्चालकहरुले रिन्युको नाममा सर्भिस चार्ज लिएको बताएका छन् । यस्तो कार्य उपयुक्त नभएकाले तत्कालै यसलाई बन्द गर्नुपर्ने उनको भनाइ छ ।
त्यतिमात्र नभएर उनले लघुवित्तका सञ्चालकहरु संस्थाको पैसाबाट देशविदेश घुम्ने गरेको गम्भिर आरोप लगाएका छन् ।
संस्थाका नाममा महंगो गाडी किनेर संस्थाको पैसालाई दुरुप्रयोग गरेको कार्यकारी निर्देशक नेपालले बताए । उनले लघुवित्तका सञ्चालकहरुले आफुले गर्नुपर्ने कार्यहरु नगर्ने, आफ्ना जिम्मेवारीहरु पुरा नगर्ने अनि राष्ट्रबैंकमा आएर बार्गेनिङ गर्ने गरेको बताएका छन् ।



















