Dhulikhel Eco Banner new

सरकार र निजी क्षेत्र मिलेर समस्या समाधान गर्नु पर्छ : अर्थमन्त्री महत

6.12K
shares

काठमाडौं, ४ वैशाख । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकार र निजी क्षेत्र मिलेर अहिलेको संकटबाट पार पाउनु पर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामाना दिने क्रममा अर्थमन्त्री महतले अहिलेको अवस्थाबाट पार पाउनका लागि सबैको हातेमालो जरुरी रहेको बताएका हुन् ।

वर्तमान समयमा निजी क्षेत्रका व्यवसायीहरु समस्या रहेको र सरकार पनि दबाबको अवस्थामा रहेको भन्दै यसबाट पार पाउनका लागि सबैको सहकार्य आवश्यक रहेको मन्त्री महतको भनाइ थियो । महासंघको भेटका क्रममा अर्थमन्त्री महतले महासंघको नेतृत्व बैकर्सको हातमा पुगेकाले समस्या समाधानका लागि पहल गर्नु पर्ने बताए । ‘महासंघको नेतृत्व बैंकर्सको हातमा पुगेको छ, उहाँ देशको अर्थ व्यवस्थाबारे जानकार हुनुहुन्छ । यो अप्ठ्यारोमा एकअर्कालाई सहयोग गर्ने समय हो,’ उनले भने ।

‘सरकारले जसरी काम गर्नुपर्ने हो, त्यो हुन सकेको छैन । यो देखिएको सत्य हामी राजनीतितन्त्रदेखि प्रशासनले स्वीकार गर्नुपर्छ । म स्वीकार गर्न तयार छु । सबै कुरामा हामीले सुधार ल्याउनुपर्छ । देशको इफिसेन्सी बढाउने चुनौति छ’, डा. महतले भने, ‘हामी नीतिगत रुपमा धेरै कुरा भनेका छौं, तर त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सकिएको छैन ।’

आर्थिक क्षेत्रमा कार्यान्वयन गर्ने विषय अन्य राजनीति विषय र आर्थिक दायित्वबीचको तदम्य नहुँदा कतिपय समस्या सिर्जना भएको छ । बढ्दो साधारण खर्चले निम्त्याएको दायित्वले आर्थिक श्रोतको पहिचान र परिचालनलाई राजनीतिक क्षेत्रबाट तादम्यका साथ हामीले सँगसँगै लैजानु पर्ने उनको भनाइ थियो । तर राजनीतिक निर्णय एकपछि अर्को हुँदै गयो, त्यसमा हामीले प्रतिस्पर्धा गर्दै गइयो, परिवेश र वास्तविकता अर्कोतिर थियो । हामीले यथार्थ विश्लेषण गरेर आफ्नो क्षेत्रबाट कति योगदान दिन सक्छौं, अहिलेको परिवेशमा त्यो महत्वपूर्ण भएको अर्थमन्त्री डा. महतले बताए ।

‘यही पृष्ठभूमिमा राष्ट्र बैंकको नेतृत्वसँग औपचारिक र अनौपचारिक छलफल गरिरहेको छु,’ डा. महतले भने, ‘आर्थिक सूचांक अब सकरात्मक हुनेछ । अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको मौद्रिक नीतिमा जहिले चासो राखेको हुन्छ । उनीहरुको सल्लाह सुझावमा पुराना नीतिहरु समय सापेक्ष बनाउने पहल गरिएको हो ।’

निजी क्षेत्रले पनि वास्ताविकता यो हो भन्नुहोस्, मौद्रिक नीतिलाई सम्बोधन गर्न सरकार तयार रहेको मन्त्री डा. महतले बताए । ब्याजदर बढ्दा अर्थतन्त्रमा समस्या देखियो । अहिले बैंकर्स एसोसियसनले ब्याजदरमा हेरेफेर गरेको छ, यसले अहिलेको अप्ठ्यारालाई थोरै भए पनि सहज गर्न मद्दत गर्न सक्छ ।

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले बधाइ तथा शुभकामना पनि व्यक्त गरेका थिए ।