Dhulikhel Eco Banner new

आफ्नो सम्पूर्ण प्रयास व्यापार मैत्री वातावरण बनाउनु हुनेछ : अर्थमन्त्री महत

6.18K
shares

काठमाडौं, २७ वैशाख । अर्थमन्त्री डा. प्रकाश शरण महतले बुधबार निजी क्षेत्रसंग बजेट निर्माणबारे सुझाव लिएका छन् ।

बुधवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा अर्थमन्त्री महतले आफ्नो सम्पूर्ण प्रयास अर्थतन्त्रका देखिएका अप्ठ्यारो परिस्थितिलाई सहज बनाएर व्यापार व्यवसाय मैत्री वातावरण बनाउने तर्फ रहेको बताए ।

उनले भने, ‘मेरो सम्पूर्ण प्रयास विजनेस फ्रेन्डली वातावरण बनाउने हो । लगानीलाई सहज बनाउने वातावरण भन्दा अर्को विकल्प छैन । चाहे निर्माण व्यवसाय होस,हाइड्रोपावर होस्,कृषि होस्,पर्यटन क्षेत्र होस्, जे जति क्षेत्र छ त्यसलाई चलायमान गर्नुपर्छ ।’

उनले राज्यका जिम्मेवार निकायमा बसेकाहरुमा जिम्मेवारी बहन गरेर काम गर्ने शैलीमा कमी आएको भन्दै त्यसलाई सबै राज्य संयन्त्रले इमान्दार रुपमा एकाकार भएर कार्य गर्नुपर्ने बताए ।
संस्थागत र देशै भरबाट आएको सुझावलाई सकेसम्म बजेट निर्माणमा समेट्ने बताउँदै उनले अर्थतन्त्रको आधारलाई फराकिलो बनाएर अर्थतन्त्र चलायमान बनाउनुपर्ने उल्लेख गरे ।

आगामी बजेटमा अर्थतन्त्रलाई चलायमान गर्ने हिसाबले काम गरिरहेको बताएका अर्थमन्त्री महतले देशको आर्थिक वृद्धिदर सुनिश्चित गर्न नेपाली अर्थतन्त्रले भोग्दै आएको विविध समस्यालाई सुधार गर्न नयाँ अध्याय प्रारम्भ गर्नुपर्ने अवस्था आएको बताए । उनले गहिराइमा गएर अर्थतन्त्रका समस्यालाई केलाएर बजेट मार्फत सकेजति सम्बोधन गर्ने बताए ।

नेपाल उद्योग बाणिज्य महासंघ लगायत विभिन्न निजी क्षेत्र र संघ संस्थाले पूर्व बजेट छलफल क्रममा आर्थिक क्षेत्र रुपान्तरणका लागि निजी क्षेत्रको प्रवद्र्धन गर्नुपर्ने, कर संहिता निर्माण गर्नुपर्ने, आयात रोक्नका लागि निर्यात प्रवद्र्धन गर्नुपर्ने, राजस्व कर प्रणाली सुधार गर्नुपर्ने साना व्यवसायीले लगानी गर्न सक्ने गरि करको दायरा निर्माण गर्नुपर्ने लगायतका राजस्व संकलन गर्न सकिने खाले चलायमान बजेट निर्माण गर्नुपर्ने सुझाव दिएका छन् ।

अर्थमन्त्रीले आइतबार संसदमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । आज पूर्व बजेटको उक्त प्रस्तावमाथि अर्थमन्त्री महतले आफ्नो भनाई राख्दै छन् ।