Dhulikhel Eco Banner new

नौ महिनामा ६ लाख बढी युवाले छाडे देश

4.73K
shares

काठमाडौं, ३० वैशाख । चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा नेपालबाट ६ लाख बढी युवा रोजगारीका लागि विदेश गएका छन् । गत साउनदेखि चैत महिनासम्म नेपालबाट ६ लाख २ हजार १५३ जना युवा रोजगारीको शिलसिलामा विदेश गएका हुन् ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत साउनयता ५ लाख ४८ हजार ६६४ पुरुष र ५३ हजार ४८९ महिला गरी ६ लाख २ हजार १५३ जनाले श्रम स्वीकृति लिएका वैदेशिक रोजगारीमा गएका छन् । यो नयाँ र पुनः श्रमस्वीकृति लिनेको संख्या हो । विभागको तथ्यांक अनुसार नेपालबाट रोजगारीका लागि विदेश जान दैनिक २ हजार भन्दा बढीले श्रम स्वीकृति लिने गरेका छन् ।

चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा गत वर्षको सोही अवधिको तुलनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५.५ प्रतिशतले वृद्धि भएको छ ।

चालू आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालबा ६३ हजार ३९ जनाले रोजगारीमा विदेश जानका लागि श्रम स्वीकृति लिएका थिए । त्यस्तै भदौमा ७६ हजार ४०३ जना रोजगारीका लागि गएको विभागको तथ्यांक छ । असोजमा ६२ हजार ७०६, कात्तिकमा ७८ हजार ३७०, मङ्सिरमा ६८ हजार ५६४, पुसमा ६५ हजार ४६४, माघमा ६४ हजार २८४, फागुनमा ६१ हजार ८४५ र चैत महिनामा ६१ हजार ४७८ जना रोजगारीका लागि विदेश गएका छन् ।

नेपालीहरुको मुख्य रोजगार गन्तव्य मूलुकका रुपमा खाडी र मलेसिया रहेको छ । सबैभन्दा बढी मलेसिया, साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्स (युएई) का लागि श्रम स्वीकृति जारी भएको छ । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै रेमिट्यान्स आप्रवाहमा पनि सुधार देखिएको छ । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ९ खर्ब ३ अर्ब ३९ करोड रेमिट्यान्स नेपाल भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २४.२ प्रतिशतले बढी हो ।