Dhulikhel Eco Banner new

अमेरिकी लगानीकर्तालाई लगानी सम्मेनलमा सहभागी हुन अर्थमन्त्रीको अपिल

4.56K
shares

काठमाण्डौं, २७ फागुन– नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी ०८१ वैशाखमा हुने लगानी सम्मेलनमा बढीभन्दा बढी सहभागिता जनाउन अमेरिकी लगानीकर्तालाई अपिल गरेका छन् ।

बधाई तथा कार्यकाल सफलताको शुभकामना दिन आइतबार मन्त्रालय आएका नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनसँगको भेटमा उनले बढीभन्दा बढी लगानीकर्ता आउने वातावरण बनाइदिन आग्रह गरे ।

नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण रहेको भन्दै पुनले त्यसका लागि आवश्यक कानूनी तथा व्यवहारिक सहजीकरणका लागि सरकार तत्पर रहेको बताए ।

‘अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल भर्जिन ल्याण्ड हो’, पुनले भने, ‘तपाईंमार्फत लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ताको सहभागिता बढीभन्दा बढी होओस् भन्ने आग्रह गर्न चाहन्छु ।’

पुनले नेपालमा लगानीका लागि कृषि, उद्योग तथा आईटी राम्रो सम्भावनाको क्षेत्र भएको बताए ।
लगानी सम्मेलन पूर्वनिर्धारित मितिमै हुने बताउँदै सरकार त्यसले त्यसको तयारीका लागि तीव्रता दिइरहेको उल्लेख गरे ।

जवाफमा राजदूत थम्पसनले लगानी सम्मेलनमा ठूलो संख्यामा अमेरिकी लगानीकर्ता आउन इच्छुक रहेको जानकारी दिए । उनले अमेरिकी लगानीकर्ता नेपालमा आउन आकर्षित रहेको भन्दै त्यसका लागि वातावरण बनाउन नेपालस्थित अमेरिकी दूतावासले सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाए ।