Dhulikhel Eco Banner new

कलेक्टिभ रुपमा नेपालमा लगानी गर्न एनआरएनलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

5.69K
shares

काठमाडौं, ५ साउन । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कलेक्टिभ रुपमा नेपालमा लगानी गर्न गैर आवासीय नेपालीहरुलाई आह्वान गरेका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले बिहीबार राजधानीमा आयोजना गरेको वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेपसम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड–१९ महामारी तथा रुस–युक्रेन युद्धका कारण मुलुकमा वैदेशिक मुद्रा संचितिमा संकुचन देखिएको बताउँदै यो नेपालभित्र विदेशी मुद्रा भित्र्याउने र लगानी विस्तार गर्ने उपयुक्त अवसर भएको बताएका हुन् ।

‘मुलुक अहिले वैदेशिक मुद्रा संचितिको चाँपबाट गुज्रिएको छ, नेपालमा वैदेशिक मुद्रा भित्र्याउदै लगानी विस्तारका लागि तपाईहलाई यो उपयुक्त अवसर होे । प्रत्यक मुलुकको वा शहरको समूहहरु बनाई कलेक्टिभ रुपमा ठूलाठूला आयोजनाहरुमा लगानी विस्तार गर्नुहोस्, तपाईले त्यहाँ गरेको लगानी र प्रतिफलभन्दा नेपालमा पक्कै पनि राम्रो हुनेछ,’ उनले भने । उनले लगानी गर्न तथा प्रतिफल लैजान केही समस्या भए क्रमशः समाधान गर्दै जान नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट पहल गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

‘नेपालमा लगानीको वातावरण बनाउन तथा तपाईहरुको लगानीको प्रतिफल लैजान केही समस्या परेमा हामी तपाईहरुसँगै हुनेछौँ । यहाँहरुलाई आइपर्ने कुनै पनि समस्या समाधानका लागि समग्र निजी क्षेत्रको तर्फबाट आवश्यक पहल गर्ने म यहाँहरुलाई प्रतिवद्धतासमेत जनाउन चाहन्छु,’ ढकालले भने । नेपालको अर्थतन्त्रका केही सुचकहरु नकारात्मक रहे पनि नेपाल र श्रीलंकाको आर्थिक अवस्था तुलना गर्न नमिल्ने उनको भनाइ थियो । उनले भने–‘नेपाल र श्रीलंकाको आर्थिक अवस्था तुलना गर्न मिल्दैन । श्रीलंका ठूलो विदेशी ऋणमा छ । हामी त्यस्तो अवस्थामा छैनाँै । अर्को कुरा उनीहरुको भन्दा हाम्रो अर्थतन्त्रमा रेमिट्यान्सको भूमिका फरक खालको छ । त्यसैले हामी कुनै पनि हालतमा श्रीलंका हुँदैनौ र त्यो बाटोमा पनि छैनौ ।’

आईपीओमा गैर आवासीय नेपालीहरुलाई १० प्रतिशत कोटा छुट्याउदा यसले अहिलेको तरलता समस्या समाधान गर्न धेरै हदसम्म सहयोग पुगेको पनि उनले बताए । त्यस्तै नेपालमा सम्भावना नै सम्भावना रहेको र यसलाई अवसरका रुपमा लिन गैर आवसीय नेपालीहरुलाई पनि वरिष्ठ उपाध्यक्ष ढकालल आग्रह गरे ।