संविधान दिवसमा लोसपाको विरोध प्रदर्शन
वि.सं.२०७९ असोज ३ सोमवार १८:३४
shares

काठमाडौैं, ३ असोज । मधेश प्रदेशको राजधानी जनकपुरधाममा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएको छ । ३ असोज ०७२ मा जारी संविधान र सो दिनलाई कालो दिनका रुपमा मनाएको हो ।
संविधानले संघीय गणतान्त्रिक व्यवस्था, धर्मनिरपेक्षलाई संस्थागत गरेको भन्दै लोसपाले कालो संविधानको संज्ञा दिएको छ । कालो ब्यानर र टाउकोमा कालै फेटा बाँधेर सडकमा लोसपाका नेता कार्यकर्ताहरुले संविधानको दिवसको विरोधमा र्यालीसमेत निकालेका छन् । र्याली शान्तिपूर्ण भए पनि सुरक्षा व्यवस्था भने कडा गरिएको थियो ।
लोसपा नेपालले विरोध र्यालीपछि कोणसभाको आयोजना गरेको थियो जसमा लोसपाका नेताहरुले संविधान संसोधन नभएसम्म संविधानको विरोधमा कालो दिवस मनाउने चेतावनी दिए । लोसपा नेपाल धनुषाका अध्यक्ष परमेश्वर साहले संविधान संशोधान नभएसम्म कालो दिनका रुपमा मनाउने बताए । ‘जबसम्म संविधान संसोधन हुँदैन तबसम्म हामी तराई÷मधेशका जनता संविधानको विरोधमा कालो दिवस मनाइरहन्छौँ,’ उनले भने ।
राज्यले थुप्रै आश्वासन दिए पनि त्यसलाई पुरा गरेन र त्यसको विरोध आफूहरु शान्तिपूर्ण तरिकाले गर्दा प्रहरीको गोली चलाएर मधेशी जनताको हत्या गरेको उनको आरोप थियो । जबसम्म संविधान संसोधन हुँदैन, तबसम्म कालो दिवसलाई निरन्तरता दिने साहले बताए ।
अहिले राष्ट्रमा एकल पहिचानको आधारमा राष्ट्रियतालाई परिभाषित गरिएकाले जबसम्म सम्पूर्ण जाति, समुदाय, धर्मको आधारमा राष्ट्रियता परिभाषित हुँदैन, तबसम्म आन्दोलन जारी रहने उनले बताए । उनले आफ्नो पार्टीको निर्णय अनुसार आफुहरु संविधान दिवस नमनाएर यसको विरोधमा रहेको बताए ।
जनकपुरधामको जनकचोकबाट निकालिएको विरोध जुलुस नगरका विभिन्न भागको परिक्रमा गर्दै पुनः जनकचोकमा पुगेर कोणसभाको आयोजना गरिएको थियो । यता, संविधान जारी भएको दिनलाई विगतदेखि ‘कालो दिवस’ का रूपमा मनाउँदै आएको जनता समाजवादी पार्टी नेपालले भने यस पटक ‘संविधान दिवस’ कै रूपमा मनाएको छ ।



















