GBIME

पूर्व राजा नामर्द भए : व्यवसायी दुर्गा प्रसाइँ

'कि विदेशमा आरामले बस नत्र देशको बेथिती टुलुटुल नहेर'

2.06K
shares

काठमाडौं, ५ माघ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा व्यवसायी दुर्गा प्रसाइँले राजा ज्ञानेन्द्रलाई आफूलाई सहयोग गर्नका लागि आग्रह गरेका छन् । बिहीबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्रसाइँले देश जोगाउनका लागि आफूलाई साथ दिनका लागि आग्रह गरेको बताए ।

अहिले देशको अवस्था नाजुक बन्दै गएको अवस्थामा राजालाई भेटेर आफूले कि नागरिकको रुपमा सडकमा आउन कि विदेशमा गएर आरामको जीवन विताउन सुझाव दिएको उनको भनाइ थियो । ‘नामर्दजस्तो चिया बगनामा बस्नुभन्दा अमेरिका गएर आरामले बस्नुस्,’ आफूले दिएको सुझाब सुनाउँदै प्रसाइँले भने । पूर्व राजाले आफ्नो हालखबर सोधेको र आफूले ठिक भएको बताए पछि तपाइको त ठिक छ देशको हालत बेहाल छ भनेर चिन्ता व्यक्त गरेको उनले बताए । ‘राजा भनेको बाघ हो देश देश बिग्रेको टुलुटुलु हर्ने हुँदैन,’ उनले भने ।

उनले पूर्व राजा ज्ञानेन्द्र, पूर्व युवार पारस लगायत देशभक्तहरुलाई आमा नगरिकका रुपमा सडकमा आएर आवाज उठाउन पनि आग्रह गरे । देशमा व्यवस्था फेरिए पनि नागरिकका समस्या समाधान नभएको भन्दै यसका लागि अन्तिम लडाँइ लड्नु पर्ने उनको भनाइ थियो । देश निकै अप्ठ्यारो अवस्थामा रहेको बेला सरकारले जनताका समस्याका विषयमा ध्यान नदिएको भन्दै अधिकारका प्राप्तिका लागि सबैले हातेमालो गर्नु पर्ने उनको भनाइ थियो ।

संघीयता सेतो हात्ति भयो : खारेज गर्नु पर्छ

यसैबीच प्रसाइँले संघीयता देशका लागि भारी भएको बताएका छन् । संघीयताले खर्च मात्रै बढाएको भन्दै यो सेतो हात्ति बनेको दाबी गरे । ‘नेपाल जस्तो सानो देशमा ८०० सांसाद, २०० मन्त्री आवश्यकन छैन, संघीयता खारेज गरेर सनातन हिन्दु राज्य निर्माण गर्नु पर्छ,’ उनले भने, ‘नेपालको जनसंख्या ३ करोड हो त्यसमा पनि १ करोड युवा विदेशमा रहेको अवस्थामा २ करोडलाई शासन गर्नका लागि यत्रा धेरै मन्त्री र सांसदको आवश्यकता छैन ।’

अहिले नेपालमा स्वास्थ्य मन्त्री मात्रै १६ जना रहेको उनले बताए । ‘हरेक प्रदेशमा एक मन्त्री र राज्य मन्त्री अनि संघमा पनि मन्त्री र राज्य मन्त्री उनीहरुका आउतेपाउतेलाई पनि सवारी साधनको खर्च राज्यले धान्न सक्छ,’ उनले भने । एउटा गृहमन्त्रीले मात्रै १० वटा गाडी प्रयोग गर्छ । अनि यस्त्रो खर्च राज्यले धान्न नसकेको उनको भनाइ छ ।