घोराही सिमेन्टको आईपीओमा स्थानीयले देखाएनन् रुची
वि.सं.२०८० जेठ २ मंगलवार १४:५९
shares

काठमाडौं, २ जेठ । घोराही सिमेन्टको आईपीओमा स्थानीको रुची कम देखिएको छ । कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरुका लागि आईपीओ निष्काशन गरेको थियो । आयोजना प्रभावित क्षेत्रका स्थानीले रुची नदेखाउँदा आवेदन दिने म्याद थप गरेको छ ।
कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा गएकाहरुका लागि मंगलबारसम्मका लागि आवेदन दिने समय तोकिएको थियो । आयोजना प्रभावित क्षेत्रका स्थानीबाट माग बमोजिमको आवेदन नपरेपछि समय लम्याएर जेठ १७ गतेसम्म पुर्याइएको छ । वैदेशिक रोजगारीमा गएकाहरुलाई भने मंगलबारसम्म मात्रै आवेदन दिने समय रहेको छ ।
आयोजना प्रभावित क्षेत्रका स्थानीकालाई छुट्याएको शेयरमा जेठ १७ गतेसम्म पनि माग अनुसारको आवेदन नपरेमा कम्पनीले बाँकी रहेको शेयर सर्वसाधारणका लागि निष्काशन गर्नेछ । कम्पनीले ३ लाख ९७ हजार १९० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याएको छ ।
शेयरमा उद्योग प्रभावित दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १, २, ३, १४, १५, १७, १८ र १९ का स्थानीयले आवेदन दिन पाउने छन् । त्यस्तै कम्पनीको शेयरमा दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ३ र ४ तथा रोल्पाको त्रिवेणी गाँउपालिका वडा नम्बर ३ र ४ का बासिन्दाका लागि पनि शेयर छुट्याएको छ । कम्पनीले जारी निष्काशन गरेको १०० रुपैयाँ अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ४०० रुपैयाँको दरले स्थानीयका लागि शेयर निष्काशन गरेको छ ।



















