शेयर बजारमा हालसम्मकै उच्च कारोबार
वि.सं.२०८१ साउन २७ आइतवार १६:१२
shares

काठमाडौं, २७ साउन । साताको पहिलो दिन नेप्से परिसूचक ९४.४६ अंकले बढेर २८६० बिन्दुमा कायम भएको छ । आइतबार कारोबार रकममा पनि नयाँ रेकर्ड बनेको छ ।
यस दिन कुल २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि २२ साउनमा बनेको २३ अर्ब ७१ करोडको रेकर्ड ५ दिनमै तोडिएको हो ।
यसदिन हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ९५३ रूपैयाँमा १ अर्ब ५२ करोडको शेयर कारोबार भएको छ।
सर्वाधिक शेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ७३३ रूपैयाँमा १ अर्ब १६ करोड रूपैयाँ बराबरको शेयर कारोबार भएको छ।
नेसनल हाइड्रोपावर, नेरुडे मिर्मिरे लघुवित्त, एचआईडीसीएल, खानीखोला हाइड्रोपावर, आँखुखोला जलविद्युत्, माथिल्लो तामाकोशी, शुभम् पावर, आत्मनिर्भर लघुवित्त, मिडसोलु हाइड्रोपावर, युनाइटेड इदी मर्दी, सिंगटी हाइड्रोपावर, रिडी पावर, अरुणभ्याली हाइड्रोपावर, एनआईसी एसिया लघुवित्त, हिमाल दोलखा हाइड्रोपावर, अरुण काबेली पावर तथा शिवश्री हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको छ ।
२२५ कम्पनीको मूल्य बढ्दा १५ को घट्यो भने २ को स्थिर रहेको छ । सबै क्षेत्रगत सूचक बढेका छन् ।
निफ्रा, थ्रीस्टार हाइड्रोपावरको मूल्य ९.८ प्रतिशत बढेको छ । कुथेली बुकरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । युनिलिभर नेपालको ३.८५ प्रतिशत घटेको छ ।
यसदिन जीवन बीमा समूहको परिसूचक सर्वाधिक ४.५५ प्रतिशतले बढेको छ भने दोस्रोमा लघुवित्त समूहको परिसूचक ४.४० प्रतिशतले बढेको छ।















