नेप्से परिसूचक २९३१ बिन्दुमा, हालसम्मकै उच्च कारोबार
वि.सं.२०८१ साउन २८ सोमवार १५:३०
shares

काठमाडौं, २८ साउन । सोमबार नेप्से परिसूचक ७०.८१ अंकले बढेर २९३१ बिन्दुमा कायम भएको छ । सोमबार कारोबार रकममा पनि नयाँ रेकर्ड बनेको छ ।
यस दिन कुल २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएर आइतबारको रेकर्ड तोडिएको छ । यसअघि आइतबार मात्रै २५ अर्ब ७७ करोडले नया रेर्कड राखेको थियो ।
यस दिन हिमालयन रि इन्स्योरेन्स सर्वाधिक कारोबार पहिलोमा रहेको छ। उक्त कम्पनीको यस दिन १ अर्ब २२ करोड ८० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्टको ९२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने नेपाल फाइनान्सको कारोबार रकम ८४ करोड नाघेको छ ।
यसदिन सात कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सूर्यज्योति लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, जोशी हाइड्रोपावर, स्वेत गंगा हाइड्रोपावर, भिजन लुम्बिनी र शुभम पावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको हो। यस्तै, कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ८ रूपैयाँ १० पैसामा झरेको छ।
कुल १७१ कम्पनीको मूल्य बढ्दा ६८ को घट्यो भने ३ को स्थिर रहेको छ । अधिकांश क्षेत्रका सूचक बढेका छन् । बैंकिङ २.९५, विकास बैंक ३.००, फाइनान्स ४.८१, होटल तथा पर्यटन २.९४, हाइड्रोपावर ३.४३, जीवन बीमा ५.८५, माइक्रोफाइनान्स १.०८, निर्जीवन बीमा २.९७, अन्य १.०० तथा ब्यापार समूह ४.१३ प्रतिशत बढेका छन् । लगानी ०.१९ र उत्पादन समूहको सूचक भने १.१९ प्रतिशत घटे ।















