दोर्दी खोला हाइड्रोपावरको आईपीओ खुल्दै
वि.सं.२०७९ जेठ २५ बुधवार १६:५९
shares

काठमाडौं, २५ जेठ । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले जेठ २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आईपीओ बाँडफाँट गरिसकेको दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
पहिलो चरणमा कम्पनीले वैशाख १३ गतेदेखि जेठ ५ गतेसम्म आयोजना प्रभावित लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुका लागि प्रतिकित्ता रू. १०० अंकित दरको १० लाख ५४ हजार २६० कित्ता आईपीओ विक्री खुला गरेको थियो । उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई ७ लाख ५६ हजार ४२० कित्ता आईपीओ गत जेठ १२ गते बाँडफाँट गरिएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरी विक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्तासहित गरी प्रतिकित्ता रू.१०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो ।
सर्वसाधारणमा वितरण गरिने कुल कित्ता आईपीओमध्ये ३ प्रतिशत अर्थात् ६५ हजार ८६५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् १ लाख ९ हजार ७७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकिएको छ । यी वाहेक बाँकी २० लाख १९ हजार ८६९ कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा आउन लागेको हो ।
यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतममा १७ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । छिटो अवधि जेठ ३१ गतेसम्म तोकिएको यो आईपीओ सो अवधिभित्र विक्री नभएमा भने ढिलो अवधि असार ९ गतेसम्म विक्रीमा रहनेछ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर डबल बी माइनस रेटिङ प्रदान गरेको छ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।















