महालक्ष्मी विकास बैंकले सञ्चालनमा ल्यायो शिशु स्याहार कक्ष तथा डे केयर
वि.सं.२०८३ साउन २२ शुक्रवार १३:५८
shares

काठमाडौं, २२ साउन । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना महिला कर्मचारीको मातृत्व सुविधा र कार्य–जीवन सन्तुलनलाई ध्यानमा राख्दै केन्द्रीय कार्यालय दरबारमार्गमा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालनमा ल्याएको छ।
विश्व स्तनपान सप्ताह २०२६ ९अगस्ट १ देखि ७० को अवसर पारेर बैंकले स्तनपान गराइरहेका महिला कर्मचारीलाई सुरक्षित, सहज, स्वच्छ र गोपनीय वातावरण उपलब्ध गराउने उद्देश्यले उक्त सुविधा सञ्चालनमा ल्याएको हो।
हालै आयोजित एक कार्यक्रमबीच महालक्ष्मी महिला नेतृत्व तथा विकास फोरमका अध्यक्षले शिशु स्याहार कक्ष तथा डे केयरको उद्घाटन गरेका हुन्।
महिला कर्मचारीको नेतृत्व क्षमता विकास, पेशागत दक्षता अभिवृद्धि, कार्यस्थलमा समान अवसर र समावेशी वातावरण प्रवर्द्धन गर्ने उद्देश्यले बैंकले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। बैंकको ३२औं वार्षिक उत्सवको अवसरमा गठन गरिएको महालक्ष्मी महिला नेतृत्व तथा विकास फोरमले महिला सशक्तिकरणसम्बन्धी गतिविधिहरू सञ्चालन गर्दै आएको छ।
महालक्ष्मी विकास बैंकले समावेशिता र लैङ्गिक समानतालाई प्राथमिकतामा राख्दै कर्मचारीमैत्री तथा परिवारमैत्री कार्यसंस्कृति निर्माणमा जोड दिँदै आएको जनाएको छ। शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन मातृत्वप्रतिको सम्मान, कार्य–जीवन सन्तुलन र कर्मचारी कल्याणप्रतिको बैंकको दीर्घकालीन प्रतिबद्धताको निरन्तरता भएको बैंकले जनाएको छ।
बैंकले सबै कार्यस्थललाई मातृत्वमैत्री वातावरण निर्माणतर्फ अघि बढ्न आग्रह गर्दै कर्मचारीको स्वास्थ्य, सम्मान र समग्र कल्याणप्रति सदैव प्रतिबद्ध रहने जनाएको छ।
“सबल बैंक, सफल सहकार्य” भन्ने नाराका साथ वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको छ।















