Dhulikhel Eco Banner new

४० नयाँ सवारीसाधन सार्वजनिक हुँदै, नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डको सहभागिता

390
shares

काठमाडौं, २२ साउन। यस वर्ष आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ४० वटा नयाँ सवारीसाधन सार्वजनिक गरिने भएको छ।केटिएम भ्वाइस सँगको कुराकानीमा एक्स्पो आयोजक समितिका सदस्य सिरिश मुरारकाका अनुसार यसपटक ५५ भन्दा बढी अटोमोबाइल ब्रान्डको सहभागिता रहनेछ।

उनका अनुसार एक्स्पोमा दुईपांग्रे, तीनपांग्रे, चारपांग्रे तथा विभिन्न प्रकारका व्यावसायिक सवारीसाधनका नवीनतम मोडल प्रदर्शन गरिनेछन्। एकै स्थानमा यति धेरै नयाँ सवारीसाधन सार्वजनिक हुनु यस वर्षको एक्स्पोको मुख्य आकर्षण हुने उनले बताए।

“यस वर्षको एक्स्पोको सबैभन्दा ठूलो आकर्षण ४० वटा नयाँ सवारीसाधनको सार्वजनिक प्रदर्शन हो। नेपालमा एकै स्थानमा यति धेरै नयाँ मोडल अवलोकन गर्ने अवसर निकै दुर्लभ छ,” मुरारकाले भने।

उनका अनुसार नयाँ मोडलसँगै पुराना तथा लोकप्रिय सवारीसाधनमा पनि विशेष छुट र आकर्षक अफर उपलब्ध गराइनेछ। दशैंलाई लक्षित गर्दै विभिन्न योजना सार्वजनिक गरिने भएकाले एक्स्पो सवारी खरिदका लागि उपयुक्त अवसर बन्ने उनको विश्वास छ।

एकै स्थानमा तुलना र छनोटको अवसर

मुरारकाका अनुसार एक्स्पोको मुख्य उद्देश्य ग्राहकलाई विभिन्न ब्रान्डका सवारीसाधन एउटै स्थानमा अवलोकन, तुलना तथा आफ्नो आवश्यकता र बजेटअनुसार उपयुक्त विकल्प छनोट गर्न सहज बनाउनु हो।

“सवारी खरिदको योजना बनाइरहनुभएका ग्राहकले विभिन्न ब्रान्डका मोडल, फाइनान्स सुविधा, अफर र बिक्रीपछिको सेवाबारे जानकारी लिएर तुलना गर्न सक्नुहुन्छ। त्यसपछि सही निर्णय लिन सजिलो हुन्छ,” उनले भने।

यस वर्ष आगन्तुकका लागि अझ व्यवस्थित, सफा र सहज प्रदर्शनी स्थल तयार पारिएको उनले बताए। गत वर्ष प्राप्त सुझाव र प्रतिक्रियालाई आधार बनाएर व्यवस्थापनमा थप सुधार गरिएको उनको भनाइ छ।

ईभी, हाइब्रिड र आईसीई सबै प्रविधिको आवश्यकता

विश्वभर सवारी प्रविधि तीव्र रूपमा परिवर्तन भइरहेको उल्लेख गर्दै मुरारकाले विद्युतीय (EV) र हाइब्रिड सवारीको प्रयोग बढ्दै गए पनि सबै प्रकारका प्रविधिको आफ्नै आवश्यकता रहेको बताए।

“सबै ग्राहकको आवश्यकता एउटै हुँदैन। कसैका लागि आईसीई उपयुक्त हुन्छ, कसैका लागि हाइब्रिड र कसैले ईभी रोज्नुहुन्छ। त्यसैले सबै प्रविधिलाई सन्तुलित रूपमा अघि बढाउन आवश्यक छ,” उनले भने।

उनका अनुसार विद्युतीय सवारीको बजार विस्तार सकारात्मक भए पनि पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनको पनि आफ्नै बजार र आवश्यकता रहेको छ।

दीर्घकालीन नीति आवश्यक

नेपालको अटोमोबाइल क्षेत्रलाई थप प्रतिस्पर्धी बनाउन दीर्घकालीन र स्थिर नीति आवश्यक रहेको मुरारकाले बताए।

“सरकारले समयअनुसार नीति तथा नियम परिमार्जन गर्दै नयाँ प्रविधिलाई प्रोत्साहन गर्नुपर्छ। साथै व्यवसायी र उपभोक्तामैत्री वातावरण निर्माणमा पनि ध्यान दिन आवश्यक छ,” उनले भने।

बैंक तथा बीमा कम्पनीसँग सहकार्य

ग्राहकलाई सहज वित्तीय सुविधा उपलब्ध गराउन विभिन्न बैंक तथा बीमा कम्पनीसँग सहकार्य गरिएको मुरारकाले जानकारी दिए।

उनका अनुसार ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक र एनआईएमबी बैंकसँग वित्तीय साझेदारी गरिएको छ भने बीमा सेवाका लागि सलिको इन्स्योरेन्स र एलआईजी इन्स्योरेन्ससँग सहकार्य गरिएको छ। साथै ग्लोबल र यामाहा अन्य सहयोगी साझेदारका रूपमा सहभागी रहेका छन्।

नवीन प्रविधि र आकर्षक अफर

गत वर्षको सफलतापछि यस वर्ष अझ ठूलो तयारीका साथ एक्स्पो आयोजना गर्न लागिएको मुरारकाले बताए। उनका अनुसार ४० वटा नयाँ सवारीसाधन, ५५ भन्दा बढी ब्रान्डको सहभागिता, आधुनिक प्रविधि, प्रतिस्पर्धात्मक मूल्य, दशैं अफर तथा सहज वित्तीय सुविधाले यस वर्षको एक्स्पोलाई थप आकर्षक बनाउनेछ।

“एकै छानामुनि विभिन्न ब्रान्डका नयाँ मोडल, अत्याधुनिक प्रविधि, विशेष छुट र आकर्षक अफरको लाभ लिन सकिन्छ। सबैलाई नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सहभागी भई अवलोकन गर्न आग्रह गर्दछु,” उनले भने।

यस वर्षको नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सहभागी हुने आगन्तुकले एउटै स्थानमा विभिन्न ब्रान्डका सवारीसाधन अवलोकन, तुलना तथा आफ्नो आवश्यकता र बजेटअनुसार उपयुक्त विकल्प छनोट गर्न सक्ने आयोजकको विश्वास छ।