Dhulikhel Eco Banner new

नेपाल भारत सीमा स्तम्भको मर्मत र रंगरोगनको काम सुरु

15.94K
shares

जनकपुरधाम, १६ कात्तिक । नेपाल भारत सीमा दशगजामा पर्ने सीमास्तम्भको मर्मत तथा रंगरोगनको काम सुरु भएको छ । सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीले संयुक्त रुपमा दशगजामा रहेको सीमा स्तम्भको मर्मत सम्भार तथा रंगरोगन सुरु गरेको हो ।

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका६ जटही स्थित १८५ नम्बर सहायक सीमा स्तम्भको मर्मत तथा रंगरोगन गर्दै कार्यको थालनी भएको छ । धनुषामा १५५ सीमास्तम्भ रहेको छ । मधेश प्रदेशमा नेपाल र भारत सीमा दशगजामा ४ हजार भन्दा बढी सीमास्तम्भको मर्मत तथा रंगरोगन गर्ने कार्य सुरु भएको मधेश प्रदेश सशस्त्र प्रहरी प्रमुख डिआइजी दिपेन्द्र साहले जानकारी दिए । विजोर नम्बरको सीमास्तम्भ नेपालले र जोर नम्बरको भारतीय एसएसबीले गर्ने उनले बताए ।

उनका अनुसार २०७७ साउनमा जिर्ण भएका सिमा स्तम्भ मर्मतसम्भार गर्ने मन्त्री परिषदले निर्णय गरेको थियो । हराइरहेका सिमास्तम्भ निर्माणबारे नेपाल र भारतीय पक्षबीच छलफल भइरहेको उनले बताए ।

सो अवसरमा नगराइन नगरपालिकाका मेयर विनय यादव, मुखियापट्टि मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादव, सशस्त्र प्रहरी धनुषाका एसपी दिनेश मल्ल, सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म जटहीका डिएसपी श्याम कार्की, सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म महिनाथपुरका डिएसपी प्रेमसगर बिष्ट, भारतीय एसएसबीका डिपुटी कमाण्डेन्ट सन्तोष निमोरिया लगायतको उपस्थिति रहेको थियो ।