कम्युनिटी सिल्डका लागि लिभरपुल र सीटी भिड्दै
वि.सं.२०७९ साउन १४ शनिवार १५:०४
shares

काठमाडौं, १४ साउन । इंग्लिस प्रिमियर लिगको सुरुवातका रुपमा हेरिने कम्युनिटी सिल्डको लागि आज लिभरपुल र म्यानचेस्टर सीटी भिड्दैछन् । लन्डनको वेम्बली रंगशालामा हुने यी दुई टोली बीचको खेल नेपाली समयअनुसार रातको ९ः१५ बजे सुरु हुनेछ ।
गत सिजन लिग उपाधि होडमा सीटीले लिभरपुललाई १ अंकले पछि पारेको थियो । त्यसयता दुवै टोलीले ट्रान्सफर विन्डोमा महत्वपूर्ण खेलाडी भित्र्याएका छन् । दुवै क्लबबाट नाम चलेका खेलाडी बाहिरिएका पनि छन् । सिजनको सुखद सुरुवात गर्न तल्लिन दुवै क्लबले उपाधि जित्न आफ्नो मुख्य टोली उतार्ने संकेत दिएका छन् ।
गत सिजन लिगमा दुवै टोलीले मनग्य गोल गरेका थिए । लिगको ३८ खेलमा सीटीले ९९ गोल गर्दा लिभरपुलले ९४ गोल गर्यो । यसका बाबजुद दुवै टोलीले ट्रान्सफर विन्डोमा मोटो रकम खर्चेर फरवार्ड भित्र्याएका छन् । सिटीले ५१ मिलियन पाउण्ड खर्चेर एर्लिङ हालान्ड अनुबन्ध गर्यो । यता लिभरपुलले क्लब कीर्तिमान ८५ मिलियन पाउण्डमा उरुग्वेका डार्विन न्युनेज भित्र्याएको छ ।
सीटीले इंग्ल्यान्ड राष्ट्रिय टोलीका मिडफिल्डर काल्भिन फिलिप्स अनुबन्ध गर्न लिड्सलाई ४५ मिलियन पाउण्ड तिर्यो । क्लबले अर्जेन्टिनाका युवा फरवार्ड जुलियन अल्भारेजको पनि साथ पाउनेछ । उनी जनवरीमा अनुबन्धित भएपनि लोनमा रिभर प्लेट बसेका थिए । क्लबले रहिम स्टर्लिङ, ग्याब्रिएल जेसस र ओलेक्जेन्डर जिन्चेन्कोलाई बेचेको छ ।
लिभरपुलले यसै सिजन बढुवा भएको फुल्हमका पोर्चुगिज विंगर फाबियो कार्भाल्हो भित्र्याएको छ । स्कटल्यान्डका काल्भिन राम्सी पनि टोलीमा छन् । तर विंगर साडियो माने बायर्न प्रस्थान गर्दा क्लबलाई केही धक्का महसुस हुने देखिन्छ । विकल्पमा रहँदै आएका डिभोक ओरिगी र ताकुमी मिनामिनोले पनि क्लब छाडेका छन् ।
अघिल्लो सिजन अन्तिम समयसम्म उपाधिका लागि भिडेका यी दुई टोलीलाई नयाँ सिजनमा पनि मुख्य दाबेदारका रुपमा हेरिएको छ । एक अंकले गत सिजनको उपाधी गुमाएको लिभरपुल यो सिजन भने उपाधी उचाल्ने दाउनमा रहेको छ । त्यस्तै सीटी पनि उपाधी रक्षा गर्ने अभियानमा रहने छ ।
यो खेल एक प्रकारले दुई व्यवस्थापक बीचको भिडन्तका रुपमा पनि हेरिएको छ । अहिले सीटीको व्यवस्थापकमा पेप ग्वार्डिओला छन भने लिभरपुलको व्यवस्थापकको जिम्मेवारीमा योर्गन क्लोप छन् । यी दुई प्रशिक्षक पछिल्लो समय निकै उपाधिको स्वाद लिइसकेका छन् ।















