GBIME

स्पट फिक्सिङको आरोपमा पूर्वक्रिकेटर मेहबुब आलम र आदिल अन्सारी पक्राउ

1.14K
shares

काठमाडौं, ९ माघ । गत पुसमा सम्पन्न नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा नेपालका पूर्वक्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूले टी–२० लिग आयोजनाको अधिकार पाएको भारतीय खेलकुद व्यवस्थापन कम्पनी सेभेनथ्री स्पोर्ट्स मालिक जतिन अहुवालियाको योजना अनुसार स्पट फिक्सिङमा सहयोग गरेको सीआईबी स्रोतको दाबी छ । स्रोतका अनुसार आलमले जतिनलाई अन्य खेलाडीहरूसँग पनि सम्पर्क गर्न सहयोग गरेका थिए ।

क्यानले सन् २०२२ अप्रिल २६ मा फ्रेन्चाइज ट्वान्टी २० लिग प्रतियोगिता आयोजना गर्न सेभेनथ्री स्पोर्ट्ससँग ३३ करोडको सम्झौता गरेको थियो । नेपाल टी–२० लिग गत पुस ९ देखि २७ सम्म त्रिवि क्रिकेट मैदानमा भएको थियो ।

खेल चलिरहेका बेला नतिजा हेरफेर गर्ने गरी निश्चित खेलाडीसँग लेनदेन गर्नु ‘स्पट फिक्सिङ’ हो ।

प्रतियोगिताबीच राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानसमेत रहेका ज्ञानेन्द्र मल्लले खेल भइरहेकै बेला आफ्ना खेलाडीहरूलाई अफर आएको खुलासा गरेका थिए । त्यसबारे अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को ‘एन्टी करप्सन युनिट’लाई जानकारी गराइएको उनले बताएका थिए ।

प्रतियोगिताका कमेन्टेटर सचिन तिमल्सिनाले पनि फिक्सिङ भएको दाबीसहित फेसबुकमा भिडियो वक्तव्य जारी गरेर जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका थिए । त्यसपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पनि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय, नक्साललाई निर्देशन दिएका थिए ।

त्यसलगत्तै सीआईबीले प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेर अनुसन्धान थालेको थियो ।